काठमाडौं : अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि किचलो देखिएको छ । एमसीसी पारित गराउनुपर्ने पक्षमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली उभिएका छन् भने उनी इतरका नेताहरु संशोधन नगरी पारित गर्न नहुने पक्षमा छन् ।
यसबारे छलफल गर्ने नेकपाको सचिवालय सदस्यहरु शनिबार बालुवाटार पुगेका थिए । छलफलमा गएको पुसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न बनाएको कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल भयो ।
छलफल गर्न कार्यदल सदस्यहरु भीम रावल र प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्यहरु देव गुरुङ र लिलामणि पोखरेललाई पनि सहभागी थिए । तर, प्रधानमन्त्री ओली नै अनुपस्थित रहे । सरकारको नीति तथा कार्यक्रमबारे उठेको प्रश्नमा संघीय संसदमा जवाफ दिदैं प्रधानमन्त्री ओलीले एमसीसी पारित गराउनुपर्ने संकेत दिएका छन् । तर, पार्टीले बोलाएको छलफलमा भने उनी सहभागी भएनन् । प्रधानमन्त्री ओली एमसीसीको सम्झौता संशोधन नगर्ने अडानमा यसअगाडि बाटै अडिग छन् ।
कार्य दलका संयोजक एवम् सचिवालय सदस्य झलनाथ खनाल र कार्यदल सदस्य भीम रावलले संसदमा पुगेको एमसीसी संशोधन सहित पारित गर्नुपर्ने प्रतिवेदन पेश गरेका छन् भने कार्य दल सदस्य प्रदीप ज्ञवालीले छुट्टै प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री निकट नेता ज्ञवालीले यस्तो छुट्टै प्रतिवेदन पेश गरेरै नेकपामा एमसीसीबारे सहज निर्णय नहुने संकेत मिलिसकेको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री शनिबारको छलफलमा अनुपस्थित नहुनुलाई पनि त्यही रुपमा हेरिएको छ । सचिवालयका सदस्यहरु बीच अनौपचारिक छलफल मात्रै भएकाले प्रधानमन्त्री ओली सहभागी नभएको बताइएको छ । नेकपामा एमसीसी पारित गर्नेबारे मत विभाजित छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies