काठमाडौं : गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी ऐन संशोधन गर्न बनेको विधेयक केही दिनभित्रै संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा पेश हुने बताएका छन् । २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधवबार आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सशस्त्र प्रहरीका जवानदेखि अधिकृतसम्मका दर्जाहरूले उठाउँदै आएका आवाजलाई सम्बोधन गरेर विधेयक तयार गरिएको बताए ।
उनले जवानहरूले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमै अवकाश जान पाउने प्रावधानलाई ऐनमा समावेश गरिएको बताए ।
‘प्रधानमन्त्रीलगायत सबैको सहयोगमा सशस्त्र प्रहरी बल नेपालको कानुनलाई केही दिनमै विधेयकको रूपमा संसद्मा दर्ता गर्ने सबै तयारी भएर अन्तिम रुप दिइसकेका छौं । हामी केहीदिनमा सम्बन्धित विधेयकलाई संघीय संसद्मा दर्ता गर्नेछौं । अधिकृतदेखि जवानसमेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको छ’, उनले भने, ‘लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिने छ ।’
लागूऔषध, सडक दुर्घटना र आत्महत्या नियन्त्रणको विषयलाई सुरक्षा निकायहरूले विशेष प्राथमिकता र गम्भीरताका साथ लिनुपर्ने उनले बताए । सशस्त्र प्रहरी देश र जनताको सेवामा निरन्तर खटिएको र आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्री लेखकले सीमा सुरक्षा, अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापनको क्रममा सशस्त्र प्रहरी बलले देखाएको दृढता प्रसंशनीय रहेको बताए ।