बुटवल : बुटवल उपमहानगरपालिकाले औपचारिक कार्यक्रममा खादा र माला प्रयोगमा निषेध गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न नगरसभाको अधिवेशनले धार्मिकबाहेकका कार्यक्रममा खादा र माला प्रयोग नगर्ने निर्णय पारित गरेको हो ।
नगरसभाले औपचारिक कार्यक्रमहरुमा मञ्चमा ७ जनाभन्दा बढीले आसन ग्रहण नगर्ने र औपचारिक कार्यक्रमहरुलाई छरितो बनाउँदै लैजाने निर्णय गरेको छ ।
नगरसभाको बैठकमा प्रमुख खेलराज पाण्डेयले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको विकासमा प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रयास गरेपनि अपेक्षाअनुरुप बुटवलका मुख्य र ठूला समस्यामा साथ नपाएको बताए । उनले आन्तरिक श्रोत संघ र प्रदेशको अनुदानबाट जे–जति बजेट छ, त्यसैबाट बुटवलको विकासका कामलाई अगाडि बढाउने गरी कार्यक्रम र योजनाहरु अगाडि सारेको बताए ।
उनले नगरका मुख्य समस्या समाधानका लागि संघ र प्रदेशले विशेष चासो दिएर श्रोतबारे सोचविचार गर्नुपर्ने बताए । ज्योतिनगर पहिरो, तिनाउ नदीकिनारको बस्ती, तिनाउ करिडोरका कारण विस्थापितहरुको बारेमा संघ, सरकारसँग पटक–पटक छलफल भएपनि निकास ननिस्किएको उनले बताए ।
बुटवलको विकास सबै पक्षको सहकार्यबाट मात्रै सम्भव रहेको भन्दै उनले विकासका कामले तीब्रता लिएको बताए । उनले मुख्य सडकमा ट्राफिक लाइट जडान, हाइमास्ट लाइट जडान, बधशाला सञ्चालन, बसपार्कमा स्नानगृहसहितको शौचालय, मुख्य सडकको हरियाली जस्ता कामहरु सम्पन्न भइसकेको बताए ।
यस्तै, आम्दा अस्पतालमा पारामेडिकल अध्ययन शुरु र अस्पतालको स्तरोन्नति शुरु भएको र वडा नम्बर १३ र १७ मा १५–१५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिट्टै सञ्चालन हुने उनले बताए । बीटीआइमा ४० जना छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वारोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बाआमासँग नगरप्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको प्रमुख पाण्डेयले बताए ।
उनले युवाहरुलाई खेलमा आकर्षित गर्नका लागि विद्यालयस्तरीय मेयरकप फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्ने र खेलमैदानहरुको स्तरोन्नति गर्ने काम भइरहेको बताए । प्रमुख पाण्डेले चालु आर्थिक वर्षमा केही अधुरा कामले पूर्णता पाउने र एउटा नतिजा देखिने बताए ।
नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारमा केही ठूला योजनाको सिफारिस गर्ने र खर्च नहुने विकास बजेट शीर्षकान्तरसम्बन्धी गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए ।