कपिलवस्तु : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वदेखि पश्चिमसम्म जनतासँग जोडिने विशेष माओवादी अभियान सञ्चालन हुने घोषणा गरेका छन् ।
कपिलवस्तु शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिद्वारा आयोजित नेता तथा कार्यकर्तासँगको भेटघाटमा बोल्दै प्रचण्डले ‘जनतासँग माओवादी’ अभियानलाई ऐतिहासिक बनाउने लक्ष्य रहेको बताए । उनले पार्टीलाई सुदृढ बनाउँदै जनतासँग अझ नजिक पु¥याउन हजारौं नेता–कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने अभियान सञ्चालन हुने जानकारी दिए ।
उनका अनुसार माओवादी नेतृत्वको सरकारका पछिल्ला प्रयासहरूले भ्रष्टाचार विरोधी कदम, सुशासन, र सामाजिक विभेदविरुद्धका गतिविधिहरूमा सकारात्मक प्रभाव पारेका छन् । हाल देशभर माओवादीमा प्रवेश गर्ने लहर तीव्र रहेको र अभियानले यसलाई थप गति दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनाल ‘बलदेव’ ले वर्तमान सरकार नागरिकमैत्री बन्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले देश संकटमा पर्ने सम्भावना देखिएको टिप्पणी गरे ।
यस अवसरमा माओवादी नेताहरूले विभेद र विकृति मुक्त समाज निर्माणमा माओवादीको भूमिका अझ सशक्त बनाउने प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला इन्चार्ज रुद्र बन्जाडे, जिल्ला संयोजक विष्णु बेल्वासे लगायतका नेताहरूले पनि आफ्नो धारणा राखेका थिए ।