२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

शक्ति र पदको दम्भ नदेखाउन रास्वपा नेता-कार्यकर्तालाई रविको चेतावनी

Nada
२०८३ कार्तिक २० गते १६:२१
Shares
शक्ति र पदको दम्भ नदेखाउन रास्वपा नेता-कार्यकर्तालाई रविको चेतावनी

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई शक्ति र पदको दम्भ नदेखाउन चेतावनी दिएका छन् । जनताले दिएको मतलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने वा सर्वसाधारणलाई दुःख दिने माध्यम बनाउन नहुने भन्दै उनले जिम्मेवार भएर काम गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले पार्टी ठूलो हुँदैमा प्रहरी, प्रशासन र राज्यशक्तिको आडमा जनतालाई हेप्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे । पार्टीले नेता तथा कार्यकर्ताका गतिविधि नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले शक्ति बढेसँगै जिम्मेवारीबोध पनि बढ्नुपर्ने बताए ।

‘हामी ठुला पार्टी भयौं, हाम्रा हातमा प्रहरी छन्, सिडिओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ उनले भने, ‘जनताले दिएको अभिमत जनताकै हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला ।’

लामिछानेले पार्टीभित्र पद र जिम्मेवारी पाएका तथा नपाएका नेताहरूबीच बढ्दै गएको दूरीप्रति पनि असन्तुष्टि जनाए । सांसद बनेका नेताहरूले सँगै संघर्ष गरेका तल्लो तहका कार्यकर्तालाई बेवास्ता गर्ने र पद नपाएकाहरूले सांसद बनेका साथीप्रति इर्ष्या तथा असन्तुष्टि राख्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो । पदमा पुगेका साथीको प्रगतिलाई आफ्नो सम्भावनाका रूपमा लिनुपर्ने भन्दै उनले आपसी खिचातानीभन्दा एकता र सहकार्यमा जोड दिए ।

आसन्न निर्वाचनको तयारीका क्रममा पार्टीभित्र देखिएको पदप्रतिको आकांक्षालाई पनि उनले व्यंग्यात्मक रूपमा प्रस्तुत गरे । स्थानीय तहमा वडा सदस्य र वडाध्यक्ष बन्न इच्छुक कम देखिएको तर धेरैको ध्यान सिधै मेयर, प्रदेश सांसद र माथिल्लो पदमा केन्द्रित भएको उनको टिप्पणी थियो ।

‘वडाध्यक्षमा निवेदन हालेको देखिँदैन, एकैचोटि मेयर र माननीय हुनुपर्ने । वडा कसले हेर्छ ? देश बनाउने हो भने वडा पनि बनाउनुपर्दैन ?’ उनले प्रश्न गरे । वडाध्यक्षमा उम्मेदवारी दिनुपर्ने अवस्था आए आफू नै सांसदबाट राजीनामा दिएर आउनुपर्ने हो कि भन्दै उनले कार्यकर्ताको महत्त्वाकांक्षाप्रति असन्तुष्टि व्यक्त गरे ।

पार्टीमा त्यागको कुरा गर्ने तर पद बाँडफाँटको समयमा आपसी विवाद गर्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाए। आफूले त्याग गरेको उदाहरण दिएर मात्रै निष्ठाको राजनीति स्थापित नहुने भन्दै व्यवहारमै त्याग देखाउनुपर्ने उनको भनाइ थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर