२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

‘गगनलाई राजनीतिक रूपमा कमजोर पार्ने प्रयास असफल’

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक १९ गते २१:२०
Shares
‘गगनलाई राजनीतिक रूपमा कमजोर पार्ने प्रयास असफल’

रौतहट : नेपाली कांग्रेसका सभापति गगन थापालाई राजनीतिक रूपमा कमजोर पार्न प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले विभिन्न घटनाक्रमलाई हतियार बनाएर राजनीतिक प्रतिशोध साँध्न खोजेको गम्भीर आरोप नेपाली कांग्रेस रौतहटका सभापति एवं पूर्वमन्त्री सुनिलकुमार यादवले लगाएका छन् ।

बिहीबार बिहान जिल्लाको फतुवा विजयपुर नगरपालिका–फतुवास्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले सरकारको कार्यशैली, इनम सापकोटा प्रकरण र प्रहरी प्रशासनमा गरिएको पछिल्लो हेरफेरबारे तीव्र असन्तोष व्यक्त गरे । 

पछिल्लो समय इनम सापकोटा प्रकरणलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापामाथि भइरहेका टिप्पणी र विवादबारे बोल्दै पूर्वमन्त्री यादवले लोकतन्त्रको पुनर्बहाली र संरक्षणका लागि निरन्तर संघर्षरत नेतालाई दबाबमा पार्ने षड्यन्त्र सफल नहुने दाबी गरे । 

‘गगन थापा लोकतन्त्र र देशका लागि जस्तोसुकै बलिदान दिन तयार रहने नेता हुनुहुन्छ । पूर्वराजाको शासनकालमा समेत नडराउने र नझुक्ने नेतामाथि अहिले विभिन्न बहानामा दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ, यादवले भने इनम सापकोटा जस्ता व्यक्तिले कसैमाथि जथाभावी आरोप लगाउँदैमा त्यसको कुनै औचित्य रहँदैन । आरोप लगाउनु सजिलो छ, तर त्यसलाई तथ्य र प्रमाणद्वारा प्रमाणित गरेर देखाउनुपर्छ’ उनले भने । 

उनले सापकोटासँगको सम्पर्क र संवादका विषयमा विभिन्न राजनीतिक नेतृत्व, प्रहरी अधिकारी तथा न्यायिक क्षेत्रका व्यक्तिहरूको नाम जोडेर सार्वजनिक भइरहेका विषयमा सत्यतथ्य अनुसन्धान हुनुपर्ने माग गरे । कसैमाथि आरोप लाग्दैमा बदनाम गर्ने र राजनीतिक प्रतिशोध साँध्ने परिपाटी लोकतान्त्रिक संस्कार विपरीत भएको उनको भनाइ थियो । 

पत्रकार सम्मेलनका क्रममा यादवले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाए । तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र तेस्रो वरीयतामा रहेका एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णयले प्रहरी संगठनको व्यावसायिक स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको उनले आरोप लगाए ।

‘प्रहरी संगठन कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको निजी संयन्त्र होइन । कानुन अनुसार निष्पक्ष काम गर्ने प्रहरी अधिकारीसँग वैचारिक वा व्यक्तिगत मतभेद उत्पन्न भएकै आधारमा नेतृत्व परिवर्तन गर्नु गलत र घातक नजिर हो,’ उनले चेतावनी दिँदै भने । उनले इनम सापकोटा प्रकरणपछि प्रधानमन्त्री कार्यालय र प्रहरी नेतृत्वबीच देखिएको विवाद तथा त्यसपछि चालिएका कदमहरूको स्वतन्त्र र निष्पक्ष अध्ययन हुनुपर्ने जोडदार माग गरे । 

दुई तिहाइ बहुमत प्राप्त सरकारले जनताको अपेक्षा अनुसार सुशासन र विकास निर्माणमा ध्यान दिनुपर्नेमा विपक्षी दलका नेताहरूलाई छानी–छानी बदनाम गर्न तर्फ लागेको भन्दै उनले दुःख व्यक्त गरे । 

सभापति थापाले सरकारका गलत निर्णय, नीति र कार्यशैलीको विरोध गर्नु लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै यादवले भने, सरकारको आलोचना गर्नु कुनै अपराध होइन । लोकतन्त्रमा प्रतिपक्षले सरकारका गलत कामको खबरदारी गर्छ ।  त्यसलाई राजनीतिक दुश्मनी वा प्रतिशोधको विषय बनाउन मिल्दैन ।

न्यायालयसँग सम्बन्धित घटनाक्रम तथा समाचार प्रकाशित गरेकै आधारमा पत्रकारहरूलाई अनुसन्धानका नाममा बोलाइएकोप्रति चिन्ता व्यक्त गर्दै उनले न्यायपालिकाको स्वतन्त्रता प्रहरीको व्यावसायिकता र प्रेस स्वतन्त्रता लोकतन्त्रका आधारस्तम्भ भएको स्मरण गराए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर