काठमाडौं : सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारी अब गीतकारका रुपमा समेत चिनिन थालेकी छन् । उनले राष्ट्रको सम्मान स्वरूप कोरेको गीतमा वरिष्ठ गायक तथा संगीतकार शिशिर योगीले स्वर भरेका छन् ।
देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली, जुट नेपाली’ योगीकै स्वर तथा संगीतमा आगामी माघ १६ गते अधिकारीको आफ्नै युट्युब च्यानल 'सिर्जनाको चौतारी'मार्फत सार्वजनिक हुन लागेको छ ।
सार्वजनिक भएको केही घण्टामै उक्त भिडियाेसहितको राष्ट्रिय गीतले धेरैको मन जित्नेमा गीतकार ढकाल विश्वस्त छिन् । मनोहर सुनामले संगीत संयोजन गरेको उक्त गीत दील समर्पणले रेकर्ड गरेका हुन् । प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको दृष्यांकन भने वीरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोस्ट प्रोडक्सन वर्ल्ड कभर मिडिया प्रा.लि.ले गरेको हो ।
चर्चित गायक योगीले उक्त शब्दको भावले आफ्नो मन छोएकाले सो गीत आफूले गाएको प्रतिक्रिया दिए । गीतकार अधिकारीले भने आफूले नेपालीहरुलाई एकताको सन्देशसहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भिर बन्न आग्रह गर्ने उद्देश्यले उक्त गीत लेखेको जानकारी दिइन् ।