बुटवल : अर्घाखाँची सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल पालिकालाई नमुना बनाउन लागि परेका छन् । उनी आफ्नो कार्य सम्पादनलाई उत्कृष्ट बनाउन तल्लिन देखिन्छन् । जनताको समस्या र आवश्यकताको मर्म बुझेर हरेक कार्य गर्न राज्यले निर्धारण गरेको समय भन्दा पनि बढी समय उनी नगरको काममा बिताउँछन् । अन्य कर्मचारीलाई पनि सोही अनुसार कामकाज गराउन उनी सफल भएका छन् ।
उनी सन्धिखर्क नगरपालिकामा आएपछि नियमित प्रशासनतर्फका गतिविधिहरू थप पारदर्शी ढंगबाट अगाडि बढेको सन्धिखर्कबासी बताउँछन् ।
भुसाल आएपछि कर्मचारीहरुलाई काम गर्न सजिलो भएको नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बताउँछन् । सहयोगी भावनाका भुसाल लामो समय जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरी स्थानीय सरकार संचालनको अनुभव बटुलिसकेका छन् ।
उनी नगरपालिकाको बारेमा धेरै विज्ञ पनि देखिन्छन् । जसले गर्दा उनी सन्धिखर्क नगरपालिकामा सफल पनि भएका छन् ।
सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ को कृषि तथा पर्यटन प्रवद्र्धन रोजगारी र पूर्वाधारको विकासको साथै उत्पादनमुखी आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट गरिबी असमानता तथा बेरोजगारीको अन्त्य गर्ने उद्देश्यले सन्धिखर्क नगरपालिकाका अर्घाभगवती मथुराको गोपेश्वर पिठ गंगा सरोवरलाई व्यवस्थित गरी पर्यटकहरुलाई नगरपालिकामा ल्याउने अभियानमा भुसाल लागेका छन् । कर्मचारीसँग करार सम्झौता गरेका उपसचिव भुसालले अब नगरपालिकाका सबै ठाउँहरुमा सेवा पुर्याउँदै छन् भने अहिले दैनिक बजार अनुगमन, विकास निर्माणका कामहरु अनुगमनमा व्यस्त छन् ।
नगरपालिकामा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका कुराहरूको अनुशरण गरी उनले खरिद प्रक्रिया पारदर्शिता र प्रभावकारी ढंगबाट अगाडि बढाएका छन् ।
जनताका चाहनाहरू, गुनासाहरू सुन्नका लागि गुनासा पेटिकाहरू, सूचना अधिकारीहरूको पनि व्यवस्था गरी प्रत्यक्ष जनतामाझ पुगेर कार्य गरिरहेको भुसालले मध्यान्हलाई जानकारी दिए ।
राज्य पुनर्संरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल गरी सही प्रस्तावहरू सर्वसम्मत रुपमा अगाडि बढाएर अगाडि बढाएको उपसचिव भुसालले बताए ।
उपसचिव भुसाल कम समयमै सन्धिखर्क नगरबासीहरूको समस्या पूरा गर्न लागि परिरहेका मात्रै छैनन्, काम समेत गरेर दखाएका छन् । भुसालले नगरपालिकामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कर्मचारीहरु बताउँछन् । अहिले सन्धिखर्क नगरपालिकामा धेरै समस्या चुनौतीका बाबजद पनि विवादरहित काम गरी उदाहरणीय बन्न भुसाल सफल भएको स्थानीयको भनाइ छ । सस्तो लोकप्रियताका लागि नभइ उनी आफ्नो काम प्रचार–प्रसार नगरी धेरै जनमुखी काम गरिरहेका छन् ।