प्यूठान : प्यूठानका ४ पालिका र अर्घाखाँचीका दुई नगरपालिका बीचको समन्वयात्मक बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
नगरपालिका र गाउँपालिकाले गरिरहेका कामहरु, सीमा विवादका बारेमा छलफल गर्दै सिकाइ आदान–प्रदान तथा अन्तरपालिकाहरुले सहकार्य गर्ने उद्देश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक सम्पन्न भएको हो ।
प्यूठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न भएको बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकमा अन्तरपालिकाको सडक विस्तार, उत्पादित वस्तु आदानप्रदान, कृषि उपहज, पालिकामा उपलब्ध स्रोत साधनको प्रयोग र छिमेकी पालिकाहरु मिलेर संयुक्त आयोजनाहरु संचालन गर्ने खोलाहरुमा निकासी हुने ढुंगा गिट्टी, बालुवालाई सहज रुपमा वितरण गर्ने, गर्मी याममा सुरु हुने वन डडेलो नियन्त्रण गर्ने, विभिन्न समयमा देखिने सीमा विवादको अन्त्य गर्ने विषयमा छलफल भएको शीतगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले बताए ।
यस्तै अन्तरपालिका स्तरिय विपद् व्यवस्थापन तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिए । अर्घाखाँचीको शीतगंगा नगरपालिका र भूमिकास्थान नगरपालिकासँग सीमा जोडिएका प्यूठानका ४ वटा पालिकाहरुबीच विकास निर्माण, सडक निर्माण, सीमाहरुमा होडिङ बोर्ड राख्ने गरी संयुक्त कार्यक्रमहरु बनाउने गरी सहकार्य गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा १५ शय्याका अस्पताल सञ्चालन गर्ने, स्थानीय मदिरा ब्राण्डिङ गर्ने, करका दायरा वृद्धि गरेर आन्तरिक स्रोत वृद्धि गर्ने र बनेका संरचनाहरुको संरक्षण गर्ने लगायतका एक दर्जन विषयमा छलफल भएको शीतगंगा नगरपालिका प्रमुख पौडेलले बताए ।
६ पालिकाको संयुक्त बैठकमा अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल, भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, प्यूठान ऐरावती गाउँपालिका अध्यक्ष नोबिल बिक्रम शाह, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी, सरुमारानी गाउँपालिका अध्यक्ष झकबहादुर विश्वकर्मा साथै ती पालिकाहरुका उपाध्यक्षहरु, वडाध्यक्षहरु, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थित स्थानीय तहका प्रमुखहरुले संघ र प्रदेश सरकारले कानुन निर्माणदेखि बजेट विनियोजनमा पालिकाहरुलाई हेपेको गुनासो गरेका थिए ।
जनतासँग प्रत्यक्ष जोडिएको आँगनको सरकार स्थानीय सरकार भएकोले जनताको अपेक्षा निकै धेरै हुने तर बजेट न्यून हुँदा विकास निर्माणका कामहरु प्रभावित भएको बताउँदै अब १५ वेडको अस्पताल स्थानीय स्तरमा संचालन गर्न पालिकाभित्रका जेहेन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययन गराउने र पढेपछि त्यहि पालिकामा रहेको अस्पतालमा १० वर्ष अनिवार्य सेवा दिने गरी कानुन निर्माण गर्ने विषयमा समेत छलफल भएको थियोे । ऐरावती गाउँपालिकाले गत वर्षदेखि एमबीबीएस छात्रवृत्ति लागू गरी कार्यान्वयनमा ल्याएको छ ।