२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अडिए माधव नेपाल

ADV
मुकुन्द लामिछाने
२०८१ जेठ २१ गते १३:३६
अडिए माधव नेपाल

काठमाडौं : वैकल्पिक सरकार गठनको प्रयासमा लागेको नेकपा एकीकृत समाजवादी तत्कालका लागि अडिएको छ । पार्टी भित्रको अन्तरविरोध र भावी राजनीतिक परिस्थितिको मुल्याङ्कन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कलका लागि वर्तमान सत्ता गठबन्धनमै रहेर संघर्ष गर्ने नीति लिएका छन् । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनको बैठकमा गएर राजनीतिक तरंग ल्याएका माधव नेपाल तत्कालका लागि नेकपा एमाले–माओवादी गठबन्धनमै रहने भएका हुन् । माधव नेपाल अडिँदा वैकल्पिक सरकार गठनको प्रयास तत्कालका लागि धकेलिएको छ । 

यो सँगै मधेस प्रदेशमा एकीकृत समाजवादीले जनता समाजवादी पार्टी नेपाललाई साथ नदिने भएको छ । शनिवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल  र जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले तत्काल सहकार्य नगर्ने जानकारी गराएका हुन् ।

भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टी केन्द्र सरकारमा रहेको र अन्य प्रदेशमा पनि सहभागी भएको बताउँदै यस्तो अवस्थामा विपक्षी गठबन्धनलाई सघाउन नमिल्ने बताएका हुन् । त्यसक्रममा उनले आफ्नो पार्टीभित्र पनि समस्या भएको बताए । 

नेताहरुका अनुसार अध्यक्ष नेपालले भनेका छन्, ‘मधेस प्रदेशको विपक्षी गठबन्धनमा जसपा नेपाललाई सघाउन पार्टीमा नेताहरूले नमान्ला जस्तो छ, अरू पार्टीभन्दा हाम्रो पार्टीको अवस्था अलि फरक रहेका कारण समर्थन गर्न गाह्रो हुने भयो ।’  

मधेस प्रदेशमा जसपा नेपालका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन् । 

तर एमाले र माओवादी केन्द्रको नेतृत्वको सत्ता गठबन्धनले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय लिएको छ । जहाँ एकीकृत समाजवादी समेत सहभागी हुनेछ । 

आइतबार सार्वजनिक कार्यक्रममार्फत एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने बताए । अर्थात, अर्को गठबन्धमा आफू नरहेको सन्देश दिन खोजे । 

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए ।

अध्यक्ष नेपालले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताए । उनले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको पनि बताए ।

उनले देशको राजनीति कति बेला के हुन्छ भन्न सक्ने स्थितिमा नरहेको पनि बताए । उनले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको पनि बताए ।

‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन्’ नेपालले भने । 

ADVADV

सम्बन्धित खबर

Advertise