सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानी भूतडाँडाका स्थानीय महिलाले नौमती बाजा घन्काउन थालेपछि गाउँमा रमाइलो मात्रै होइन् आर्थिक रुपमा समेत मजबुत बन्दै गएका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ६ ले बाजा बजाउने तालिम दिएपछि महिलाहरूले बाजा बजाउन सुरु गरी आर्थिक रुपमा आम्दानी गर्न थालेका हुन् ।
तालिम पाएपछि आजकल गाउँघरमा हुने विवाह र विभिन्न कार्यक्रममा महिलाले नौमती बाजा लिएर पुग्ने गर्छन्, निकै रमाइलो गर्छन् ।
महिलाले गाउँमा नौमती बाजा घन्काउन थालेपछि गाउँलेहरू खुसीका साथै दंग परेका छन् ।
महिलाले बजाएको नौमती बाजामा रमाइलो मानेर पुरुषहरू नाच्ने गर्छन्, महिलाहरु बाजा बजाउँछन् । हालै मात्रै सन्धिखर्क नगरपालिकाले कृषि बजारीकरणका लागि सम्झौता गर्ने क्रममा सन्धिखर्क नगरपालिकामा आएका वरिष्ठ व्यवसायीलाई महिलाले नौमती बाजाले सन्धिखर्क नगरपालिकाको सभाहलमा भव्य स्वागत गरेका थिए ।
कार्यक्रममा बजेको नौमती बाजाले नगरपालिकाका कर्मचारीको मात्रै होइन् सेवाग्राहीको समेत ध्यान खिच्यो र पाहुनाहरूसँग र जनप्रतिनिधिहरु बाजामा छमछमी नाचे ।
‘२१ दिनसम्म नौमती बाजा बजाउने तालिम दिएका थियौँ’ सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्रीधर महत्राले भने‘तालिम पाएपछि महिला नौमती बाजा बजाउन पोख्त भएका छन् । गाउँघरमा आयोजना हुने कार्यक्रममा उनीहरुले तालिम लिँदालिँदै बाजाका लागि माग आउन सुरु गरेको हो ।’
सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा अब केही समयभित्र होमस्टे संचालन गर्ने तयारी छ ।
नौमती बाजाका सामानहरू खरिद गरेर वडाले तालिम दिएको वडाध्यक्ष महत्राले दाबी गरे । महिलाले एउटै पहिरन रातो साडि, हरियो चोलो र तिलहरी लगाएर नौमती बाजाको नियम बनाइएको छ ।
महिलाले हातमा नर्सिङ्गा, सहनाइ, दमाह, ढोलकी, ट्याम्को, कर्लान र झ्याली लिएर नौमती बाजा बजाउँदै अघि बढ्दा सन्धिखर्क नगरपालिकामा आएका पाहुनाहरू अचम्ममा परेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
‘नौमती बाजा हामी सबैको संस्कृति हो,’नगरप्रमुख श्रेष्ठले भने,‘गाउँघरमा नौमती बाजाको लोप हुन थालेपछि हामी वडा कार्यालयमार्फत महिलालाई सीप सिकाउन थालेका थालेका हौं । यो कुनै जातिविशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई महिलाले तोड्न थालेका छन् ।’ यो कार्यले महिलाहरूको आर्थिक आयआर्जन समेत वृद्धि हुने नगरपालिकाले अपेक्षा गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।
नौमती बाजा संरक्षणका लागि वडा कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा १ लाख रुपैयाँ विनियोजन गरेको थियोे । सोही बजेटबाट नौमती बाजा बजाउन तालिम दिइएको वडा अध्यक्ष महत्राले बताए ।
नौमती बाजा बजाउन १५ जना महिलाको समूह छ । तालिम लिएका महिला सबैले बाजा बजाउन जानेको वडाध्यक्ष महत्राले बताए ।
गाउँघरमा आयोजना हुने कार्यक्रममा नौमती बाजा बजाउने मानिसको अभाव थियोे । महिलाहरुले नौमती बाजा बजाउन थालेपछि गाउँलेहरु खुसी भएको स्थानीय पत्रकार प्रकाश महत्राले बताए ।
वडाबाट यस्तो महत्वपूर्ण अवसर पाउँदा हौसला मिलेको सहनाइ बजाउने ईश्वरी परियारले बताइन् ।
उनले भनिन्,‘सुरुमा कठिन भएपनि अहिले बजाउन थालेकी छु, अब हाम्रो आयआर्जन पनि वृद्धि हुनेछ’ ‘ढोलकी बजाउने बालकुमारी परियारले भनिन्,‘बजाउँदा सुरुमा अप्ठ्यारो भयो, अहिले त बानी परिसक्यो । सिक्दै गरेकी छु, केही महिना बजाए भने मलाई विश्वास छ राम्रोसँग बजाउन सक्ने हुन्छु ।’ गाउँमा अहिले नौमती बाजा लोपहुन लागेको बेला वडा कार्यालयले उत्कृष्ट काम गर्दै कला संस्कृतिको संरक्षण गरेकोमा स्थानीयबासी खुसी छन् ।