२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

कतारमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन हुने

shivam cement
मध्यान्ह
२०८१ माघ १७ गते २१:४९
कतारमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन हुने

दोहा, कतार : नेपाली रियालिटी शोहरूमा सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्य विधाको रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन कतारमा पनि हुने भएको छ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कतारमा रहेका प्रतिभावान् गायन तथा नृत्य क्षेत्रका उत्कृष्ट कलाकारहरूको पहिचान गर्नका लागि उक्त अडिसन पहिलो पटक कतारमा हुन लागेको हो ।

आगामी महिनाको २१ तारिक कतारको अबुहामुरमा रहेको आइडीयल इन्डियन स्कुलको सभा हलमा बिहान १० बजेबाट अडिसन सुरु हुने कतारमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रमका बीच जानकारी दिइयो । उक्त कार्यक्रमका कतार संयोजक शिवराम ढकालले कतारको अडिसनबाट छनोट भएका प्रस्तिस्पर्धीहरुलाई आगामी राउन्डका लागि काठमाडौं लगिने जानकारी गराए । उनले दुवै विधाबाट उत्कृष्ट ५/५ प्रस्तिस्पर्धीको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने गरी नेपाल लगिने स्पष्ट पारे । कतार अडिसनका लागि निर्णायकको भूमिकामा चर्चित कोरियोग्राफर तथा नृत्य निर्देशक शंकर वि.सी र गायक डम्बर नेपाली आउने तय भइसकेको कार्यक्रममा जानकारी दिइयो ।

जुममार्फत जोडिएका फाउन्डेसनका एक्ज्युकेटिभ डाइरेक्टर चुडामणि भट्टराईको सभापतित्व र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पन्थीले ठूलो धनराशिको कार्यक्रम भएको हुँदा अन्य संघ संस्थाको कार्यक्रमसँग नजुधाइ आयोजना गर्न सुझाव दिए । उनले कलाकारको हक हित र संरक्षणका लागि एनसीसी कतार सदैव साथमा रहने बताए । कार्यक्रममा बोल्दै सभापति भट्टराईले रियालिटी शोको माध्यममार्फत नेपाली भाषीबीच सांस्कृतिक सम्बन्ध प्रगाढ हुने, नेपाली कला र संस्कृतिलाई विश्वभर चिनाउन, नेपाली कला संस्कृतिलाई आउँदो पुस्तालाई हस्तान्तरण गर्न मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यको साथ “संसारभरका नेपाली जातिका लागि, नेपाली सांस्कृतिक एकताको अभियान” भन्ने मूल नारालाई आत्मसात गर्दै गत वर्षबाट सुरु गरिएको सर्वाधिक पुरस्कार राशि भएको दुई रियालिटी शोको आयोजनाको थालनी गरिएको हो । यी दुवै शोका विजेताले रु एक करोड, उपविजेताले रु २५ लाख र तेस्रो हुनेले रु १० लाख पुरस्कार पाउनेछन् । दुवै सो नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो । कतारमा रहेका कलाकारहरूले फारम भरेर ३०८४८३०३ नम्बरको ह्वाट्सपमा पठाउन सकिने जानकारी गराइयो ।

मेरो भ्वाइस युनिभर्स सिजन २ का लागि वरिष्ठ गायक दीप श्रेष्ठ, शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त, तृष्णा गुरुङ र संगीतकार सुरेश अधिकारी निर्णायकका रूपमा रहेका छन् भने डान्स विधाका अग्रज कलाकार मिथिला शर्मा, शिल्पा मास्के,अभिनेता दिलीप रायमाझी, कोरियोग्राफरहरू शंकर बिसी, कविराज गहतराज र किरण थापा रहेका छन् । गायन विधालाई विशाल भण्डारीले निर्देशन गर्नेछन् भने डान्स विधाको सो लाई मोसमी गुरुङले निर्देशन गर्ने भएका छन् । रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठले कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।


ADV

सम्बन्धित खबर

Advertise