२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

७० लाख भन्दा बढी पुगे करदाता

hardik ivf
छबि सापकोटा
२०८१ माघ १८ गते ०६:४५
७० लाख भन्दा बढी पुगे करदाता

काठमाडौं : सरकारको आम्दानीको मुख्य स्रोत राजस्व बढाउने करदाताको संख्या हरेक वर्ष बढीरहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म करदाता संख्या ७० लाख नाघेको छ । आन्तरिक राजस्व विभागकाअनुसार अहिलेसम्म ७० लाख ३६ हजार ६ सय ८३  करदाता दर्ता भएका हुन् ।

सबै भन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने छन् । पुस मसान्तसम्म ४५ लाख ४८ हजार ३ सय २३ जनाले व्यक्तिगत प्यान दर्ता गराएको आन्तरिक राजस्व विभागले जनाएको छ । सरकारले कुनैपनि आर्थिक कारोबारको लागि व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि व्यक्तिगत प्यान लिनेको संख्या बढेको हो । यस्तै कुनैपनि व्यवसाय गर्नका लागि अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिनुपर्ने भएपछि व्यावसायिक प्यान लिनेको संख्या समेत बढेको छ । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १९ लाख ९३ हजार ७ सय २४ जनाले व्यावसायिक प्यान दर्ता गराएका छन् । विभागको पछिल्लो तीन महिनामा (कार्तिक–पुस) सम्मको तथ्यांक हेर्दा २८ हजार ८६ वटा व्यवसाय प्यानमा दर्ता नम्बर भएका छन् । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनेको संख्या समेत बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३ लाख ३८ हजार ३ सय १६ वटा व्यवसाय भ्याटमा दर्ता भएका छन् । साथै, अहिलेसम्म अन्तःशुल्क इजाजत दर्ता १ लाख २१ हजार ६ सय ८२ र विथहोल्डर स्थायी लेखा नम्बर दर्ता संख्या ३४ हजार ६ सय ३८ पुगिसकेको छ ।

आन्तरिक रावस्व विभागकाअनुसार आर्थिक वर्ष २०७९/०८० मा ६ लाख १३ हजार ४ सय ८३ जनाले व्यक्तिगत प्यान नम्बर लिएका थिए भने गत वर्ष २०८०/०८१ मा समेत ६ लाख १७ हजार ५ सय ३२ जनाले व्यक्तिगत स्थायी प्यान लिएका थिए । यस्तै व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या समेत बढ्दो छ । आर्थिक वर्ष २०७९/०८० मा १ लाख ४२ हजार ६ सय ९९ करदाता व्यावसायिक प्यानमा दर्ता भएका थिए भने गत वर्ष २०८०/०८१ मा १ लाख ५१ हजार ३ सय ७७ करदाताले व्यवसायिक स्थायी प्यान लिएका थिए । 

यस्तै, ठूला कारोबार गर्नेले अनिवार्य रूपमा भ्याटमा दर्ता गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०७९/०८० मा २४ हजार १ सय ८९ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएका थिए भने गत वर्ष २०८०/८१ मा २६ हजार ५ सय ४० करदाताहरू मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । 

करदाता दर्ता हुने विगतदेखिको प्रवृत्तिगत अवस्था हेर्दा हरेक आर्थिक वर्षमा उल्लेख्य संख्यामा नयाँ करदाताहरू करको दायरामा आउँदा कर संकलनमा समेत वृद्धि भएको आन्तरिक राजस्व विभागका निर्देशक बासुदेव पौडेलले बताए ।

ADVenergy

सम्बन्धित खबर

Advertise