अर्घाखाँची : अर्घाखाँची पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरिका किसान अहिले कागती खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
विगतमा विदेशी भूमिमा श्रम गरी फर्किएका स्थानीय पदमबहादुर श्रेष्ठ प्रधानले अहिले नेपालमै कागती खेतीबाट मनग्य आम्दानी गरेका हुन् ।
जंगलमा परिणत भएको पाणिनी गाउँपालिका वडा नम्बर ७ मा रहेको करिब १० रोपनी जग्गामा उनले कागती खेती गर्दै आएका छन् ।
उनले १० वर्षअघि ‘सोना’ बाहमासे कागती ३ सय र लेमन–सुन कागती २ सय गरी कूल पाँच सय कागतीका बिरूवा रोपेका थिए । अहिले ती कागतीका बिरुवाले फलदिन थालेका छन् ।
वार्षिक ५ देखि ७ लाख रूपैँया आम्दानी हुन थालेपछि कृषक श्रेष्ठ दंग छन् ।
कागती बिक्रीबाट यस वर्ष १० लाख आम्दानी हुने अपेक्षा गरेकोमा अपेक्षा अनुसार कागती नफलेपछि ३० क्वीन्टल जति कागती उत्पादन हुने अनुमान उनले गरेका छन् ।
‘उत्पादन भएको कागती बिक्री हुँदै न कि भन्नु पर्दैन,’ उनले भने, ‘कागतीको बोटमा बाह्रै महिना फल लाग्ने रहेछ, बजारमा अहिले प्रतिकिलो दुई सयदेखि दुईसय पचास रूपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’ बाँझिएको जग्गामा कागती लगाएर राम्रै आम्दानी गर्न सफल भएको भन्दै श्रेष्ठले खसी व्यक्त गरे ।
उनले भने, ‘हावापानी सुहाँउदो जग्गामा कागती लगाएमा आम्दानी गर्न निकै सहज हुन्छ ।’
विदेशमा लामो समय गरेको जागिर छोडेर सुरू गरेको व्यावसायिक कागती खेतीले राम्रो आम्दानी दिन थालेपछि बिहानदेखि साँझसम्म कागतीका बोटको स्याहार सुसार गर्नु नै दैनिकी बनेको उनले बताए ।
उनले भने, ‘यतिखेरको बेमौसममा पनि दिनमा पचास ६० किलो कागती उत्पादन हुने गरेको छ ।’
बाँदरलगायत बन्यजन्तु र चराचुरूङ्गीले समेत नोक्सान नगर्ने, रोग नलाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नु नपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको श्रेष्ठको भनाइ छ ।
करिब ८÷९ वर्ष अगाडि असार महिनाको अन्तिम साता बुटवलबाट एक सय रूपैँयाका दरले खरिद गरेर ल्याएका कागतीका बिरूवा रोपेको तीन वर्षबाट आम्दानी दिन थालेको श्रेष्ठले बताए ।
पहिलो वर्ष खर्च कटाएर १ लाख रूपैँया आम्दानी भयो र उत्पादनसहित आम्दानी बढ्नेक्रम प्रत्येक वर्ष निरन्तर रहेको छ ।
३ मिटर फरक र एक मिटर गहिराइका खाल्टामा बिरूवा रोपेर सुरू गरेको कागती खेती हालसम्म लाखौं रुपैयाँ खर्च भएको श्रेष्ठ बताए ।
कागती रसिलो भएका कारण बजारको माग पनि राम्रो भएको श्रेष्ठले बताए ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अनुसार अर्घाखाँचीमा व्यवसायिक कागती खेती गर्ने किसान न्यून छन् । श्रेष्ठको बारीमा रोपिएका कागती लटरम्म फलेका छन् ।
श्रेष्ठले भने,‘रूखबाट झरेका कागती पेलेर अघिल्लो केही अमिलो चुक उत्पादन भएको थियो, कालो बाक्लो अमिलो चुक प्रतिमाना एक हजार र पातलो झोल चुक पाँच सयमा बिक्री हुने गर्छ, यस वर्ष पनि केही चुक उत्पादन भइसकेको छ, झरेका कागतीबाट समेत आम्दानी हुने गरेको छ ।’
‘बिरूवा रोपेको तीन वर्षमै फल दिन सुरू गरेको कागती खेतीका लागि स्थानीय गाउँपालिका वडाले बाहेक कुनै पनि सरकारले सहयोग दिएका छैनन्’ श्रेष्ठले भने, ‘यतिखेर कागती बगैँचाको काँटछाट, गोडमेलको काम भइरहेको छ । दैनिक ३ जनालाई ज्यालादारीमा काम लगाउँदै आएको छु । काम गर्ने कृषकलाई प्राविधिकसहित अन्य सहयोग प्रदेश सरकारले गर्छ भन्ने सुनेको छु, तर मैले पाएको छैन । कसले पाउँछन् मलाई त्यो कुरा जानकारी छैन ।’
पछिल्लो समय बिहानमा तातो पानी, चिया र खानामा कागती अत्यधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ । अर्घाखाँचीमै कागती खेतीमा अब्बल मानिएका श्रेष्ठले भने,‘राज्यका तर्फबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागती लगायत फलफूल तथा तरकारीमा देश आत्मनिर्भर बन्न सक्छ ।’ कागती खेतीभित्र अन्तरबालीका रूपमा तरूल, अकवरे खुर्सानी, टिमुर, अमला, एभोगाड फलफूलका बोटबिरूवा समेत श्रेष्ठले लगाएका छन् ।
लिफ्टिङ प्रविधिबाट गाउँमा आएको पानी तथा आकासे पानीले श्रेष्ठले बगैँचामा सिँचाइको व्यवस्था गरेको श्रेष्ठ बताउँछन् ।
युवाको रोजाइँमा विदेश पर्ने र स्वदेशका अधिकांश जग्गा बाँझिने स्थितिको अन्त्यका लागि कृषि उत्पादन तथा उत्पादकत्वतर्फ तीन तहका सरकारको ध्यान जानुपर्ने स्थानीय वडाध्यक्ष गुणाखर अधिकारी बताउँछन् ।