
काठमाडौं : बेलायतको स्कटल्याण्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म 'द एभरेस्ट ड्रिम' तयार भएको छ । करिब डेढ वर्षको मेहनतपछि तयार भएको यो फिल्मलाई निर्देशक तथा पत्रकार गणेश पाण्डेले निर्देशन गरेका हुन् ।
फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिहरूले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरहरूले फेरि राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन जिउन कठिन हुने बताइएका उनीहरूले हार नमानी नेपाल आएर एभरेस्ट बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेका थिए । फिल्ममा उनीहरूको स्कटल्याण्डबाट सुरु भएको यात्रा, काठमाडौं आगमन र त्यसपछि खुम्बु क्षेत्र हुँदै एभरेस्ट बेस क्याम्पतर्फको कठिन तर भावनात्मक यात्रालाई देखाइएको छ । यात्राका क्रममा उचाइ, थकान र स्वास्थ्यका चुनौती आए पनि उनीहरू एक–अर्काको साथ र शेर्पा गाइडहरूको सहयोगमा अघि बढ्ने प्रयास गर्छन् । यात्रामा केही चुनौतीपूर्ण क्षणहरू पनि देखिन्छन्- एक सदस्य केही समय समूहबाट छुट्टिने घटना र अर्का सदस्य स्वास्थ्य समस्याका कारण बेस क्याम्प पुग्नुअघि नै रोकिनुपरेको अवस्था ।
निर्देशक पाण्डेका अनुसार, यो फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिन्छ । यस्ता बिरामीहरूले सामूहिक रुपमा सगरमाथा आरोहण गरेको यो पहिलो हो । द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र उनका परिवारसहित ७ जना सगरमाथा बेस क्याम्प पुगेका थिए ।
डकुमेन्ट्री फिल्म निर्माणको क्रममा निर्देशक पाण्डे स्वयंले पनि चुनौती सामना गरेका थिए । सगरमाथा बेस क्याम्प पुग्नै लाग्दा अक्सिजनको कमी भएपछि उनी आफै पनि हेलिकप्टरमार्फत फर्किनु परेको थियो ।
.jpg)
यो डकुमेन्ट्री यही अप्रिल ५ मा काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा प्रिमियर हुने तयारीमा रहेको छ । त्यसपछि फिल्म विश्वका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन हुने निर्देशक पाण्डेले बताए ।
निर्देशक पाण्डेका अघिल्ला डकुमेन्ट्रीहरू पनि अन्तर्राष्ट्रिय स्तरमा सफल भइसकेका छन् । उनको भूकम्पसम्बन्धी डकुमेन्ट्री 'भाग्यले बाँचेकाहरू'ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो र ३२ भन्दा बढी देशमा प्रदर्शन भएको थियो । त्यस्तै बहुपति प्रथामाथि आधारित डकुमेन्ट्री 'को–हजबेण्ड'ले पनि एक दर्जन भन्दा बढी उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो भने संसारका ४० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन भएको थियो ।
.jpg)
फिल्म निर्माणमा एशोसियट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ । निर्देशक पाण्डेले फिल्म निर्माणमा सहयोग गर्ने सबै टिम सदस्यप्रति आभार व्यक्त गरेका छन् ।
त्यसैगरी, यो फिल्म सुरु गर्न प्रेरणा दिने जेम्स ल्याम्ब र लिटिल शेर्पा फाउण्डेशनप्रति पनि उनले विशेष धन्यवाद दिएका छन् । पाण्डेका अनुसार लिटिल शेर्पा फाउन्डेसनसँगको सहकार्यकै क्रममा उनले सन् २०१७ मा बेलायतको संसद्मा “भाग्यले बाँचेकाहरू” प्रदर्शन गर्ने अवसर समेत प्राप्त भएको थियो ।
.jpg)