–लेखराज रेग्मी
आज एकाबिहानै फोनको घण्टी बज्यो । प्रायः बिहान सबेरैको उस घण्टी कै लागि हुन्थ्यो । मैले उठाउन अल्छी गरेँ । वास रुम, हाम्रो बोलचालमा पाइखानाबाट हतार–हतार निस्किएर फोन उठाई, “ओहो !” सामान्य औपचारिकतापछि एक्कासि उ चिच्याई । म जुरुक्क उठेर उसको सामुन्ने पुगेँ । उसले रिसिभर मेरो हातमा थमाउँदै पछाडि सरी र भनी “कुरा गर्नुस् ।”
उताबाट आमाको आवाज आयो “बाबु ! सब बरबाद भो !”
आमाले एक सासमै सबै कुरा राख्नुभयो । मैले केही बोल्नै सकिन । “तिमीहरू आफै जान्नेछौ छौ ।” भन्दै आमाले फोन राख्नुभयो । अब बोल्नुपर्ने कुनै कुरा बाँकी थिएन र मैले फर्काएर फोन पनि गरिन् ।
एक छिन पछि उसले चियाको कप बोकेर प्रवेश गरी । “आमाले के भन्नुभयो ?”
“तिमीहरू आफै जान्नेछौ छौ भनेर फोन राख्नुभयो, म बोल्नै सकेको थिएन र सायद आमा पनि दोहोरो कुरा गर्ने स्थितिमा हुनुहुन्थेन । यो अत्यन्तै गम्भीर समस्या भयो, अब के गर्न सकिएला ?” मसँग उसको लागि कुनै जवाफ थिएन ।
मन मस्तिष्कमा ठुलो हुण्डरी चलिरहेको थियो । म मौन नै थिएँ । सायद मनोदशा बुझेर होला, चियाको जुठोकप उठाएर भान्सातिर लगि ।
मेरो दिमागले एक पटक संसार चाहार्यो तर, सहयोगको लागि अनुरोध गर्न लायक कोही छैन । दिमागले निकास नै भेटाएन । सायद यही स्थिति होला “अक्कलले घाँस चर्ने बेला !” यस्तै लाग्यो मलाई ।
केही छिनपछि फोनको घण्टी बज्यो, उठाएँ । रमेश उमेरले भाइ सहपाठी, मिल्ने साथी, आमाले पनि उसलाई म जत्तिकै माया गर्ने । संयोगले उ घरमा पुगेको बेला परेछ । उसले आमालाई भेटेर बुवालाई अस्पताल लैजाने तयारी गरेछ । मसँग यस्तै कुरा गरेपछि भन्यो “छुट्टी मिलाएर छिटै आउने तयारी गर्नुपर्यो । यता म सम्हाल्दै गरौँला ।” मसँग धन्यवाद बाहेक कुनै शब्द थिएन ।
सायद उसले मैले गरेका गल्तीहरूमा माफ गरे होला वा यो मानवीय कार्यलाई प्राथमिकतामा राखे होला, म भन्न सक्ने स्थितिमा छैन । एक छिन पछि उसले खाना तयार भएको खबर गरी । हामी डाइनिङ टेबल वरिपरि मुखामुख बस्यौँ । “मैले बिदा स्वीकृत गराइसकेँ, टिकट भनिसकेको छ । भरे चार बजेको फ्लाइटमा हामी घर जाँदैछौं । हजुर पनि अफिस पुगेर छुट्टी मिलाएर आउनु ।”
उसले मेरो धेरै काम सजिलो पारिसकेकी छे । “रमेश गाउँमै रहेछ, उसले बुवालाई अस्पताल लाँदै छ । एक पटक आमालाई फोन गरेर जानकारी लिनु, आज शुक्रवार म पनि छिटै फर्किनेछु ।” मैले उसलाई सुनाएँ । म यत्रतत्र थिएँ र उ सबै जिम्मेवारी लिँदैथिई ।
हामीलाई घरसम्म पुग्न, अर्को एक दिन पुरै यात्रा गर्नुपर्छ । बाटो र पहिरोको बेमेल बाहेक । विदेश हुनु र देशमै हुनुको के अन्तर छ र ? छ÷सात घण्टाको फरकमा भाइ पनि आइपुग्ला ।
म यति बेला कार्यालयमा छु । छुट्टीको लागि कुरा भइरहेको छ । कार्यालयमा सेवाग्राहीको भीड छ । बिदा स्वीकृत भैसकेको छ तर आजको कामको चाप यति बढी छ कि भोली कार्यालय नखुल्नुको कारण सबै आजै काम सक्न चाहन्छन् । बिकट जिल्लामा यस्तो समस्या आम छ । मलाई हतारो छ तर संवेदनशील छन् मेरा जिम्मेवारीहरू ।