अर्घाखाँची : माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भष्टाचारीहरुको संरक्षण र भारत भ्रमणको कुरा गर्दा गर्दै सरकारको ६ महिना कटेको बताएका छन् ।
उनले एमाले, माओवादी वा जुनसुकै राजनीतिक दलका नेताहरू मुछिएको भनी प्रचारमा आएका अनियमितताहरुको छानबिनका लागि संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।
शनिबार प्रेस सेन्टर अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले धेरै चर्चामा आएका भ्रष्टाचारका विषयहरूबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति निर्माण गर्न माग गरे । विगतमा पनि नेताहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने गरेको स्मरण गराउँदै, श्रेष्ठले सरकारलाई त्यसका लागि तयार हुन आग्रह गरे ।
माओवादी अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री हुँदा आफ्नै पार्टीका नेता, कार्यकर्ता र परिवारमाथि छानबिन गरेको बताउँदै उनले ओली नेतृत्वको सरकारले आफ्नो पार्टी र सत्ता साझेदार कांग्रेसका नेताहरूको भ्रष्टाचार प्रकरणमा कमजोर छानबिन गरेको र प्रतिपक्षीमाथि भने बदला लिन खोज्दै पक्षपातपूर्ण व्यवहार गरेको बताए ।
उनले रवि लामिछानेमाथि सरकारले अनावश्यक संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको आरोप लगाए । श्रेष्ठ भने, ‘रवी जी दोषी हो, हैन त्यो कुरा स्वतन्त्र न्यायालयले निरुपण गर्ला ?’ तर कसैलाई १ दिन हिरासतमा नबसी उन्मुक्ति कसैलाई ८४ दिन हिरासतमा राख्नु राजनीतिक प्रतिशोध भएको उनले बताए ।