२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

‘स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय हव बनाउन आवश्यक’

Nada
सूर्यप्रसाद भुसाल
२०८१ माघ १९ गते २१:३६
Shares
‘स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय हव बनाउन आवश्यक’

गुल्मी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने गरी गुल्मी,  अर्घाखाँचीलाई  पर्यटकीय हवको रुपमा विकास गर्नुपर्ने बताएका छन् । 

ncell

मदाने  गाउँपालिका वडा  नम्बर ६ गुल्मीमा रहेको कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर गुल्मी, अर्घाखाँचीलाई विकास गर्ने योजना तयार भएको बताए । 

कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजना समग्र तीन जिल्लाको भाग्य, भविष्य निर्धारण गर्ने महत्वपूर्ण  आयोजना भएकाले आयोजनालाई तीन तहका सरकारले साझा योजनाको रुपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले जिकिर गरे ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको छ ।

प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरुलाई आसपमा जोडेर आकर्षक सर्किट निर्माण गरिने, यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे । ‘हाम्रो प्रदेश मिनि नेपालको रुपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भूगोल छ । पुरातात्विक सम्पदाहरुको संरक्षण गरेर पर्यटकहरुलाई भित्र्याउने मुख्य संकल्प छ’उनले भने,‘समृद्ध लुम्बिनी प्रदेशको आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएका छौं । यसबाट स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउन सक्ने प्रशस्त आधारहरु छन् ।’ पर्यटन पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको, सरकारका विभिन्न निकाय, निजी क्षेत्र, स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए । 

‘हामी पर्यटनलाई समृद्धिको मेरुदण्डका रुपमा विकास गर्न चाहन्छौं । यसका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र समग्र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौं’उनले भने,‘पर्यटनको क्षेत्रबाट स्थानीय स्तरमा प्रशस्त रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । कतिपय भइरहेको पनि छ ।’ 

प्रदेश सरकारले दिगो पर्यटन प्रवद्र्धनमा ध्यान दिँदै नीतिगत सुधार लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताए ।

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षता भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य थापा, पूर्वसहरी विकास मन्त्री रामकुमारी झाक्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ईश्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्का लगायतको उपस्थिति थियो । अन्तरक्रिया तथा बैठकले कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रुपमा अघि बढाउने निचोड निकालेको छ ।

ताजा खबर

सम्बन्धित खबर