अर्घाखाँची : शीतगंगा नगरपालिका वडा नम्बर १३ र १४ भित्र रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गरी आयोजित ‘लैंगिक तथा सामाजिक समावेशीकरण क्षमता विकास तालिम’ भव्य रूपमा सम्पन्न भएको छ ।
शीतगंगा नगरपालिकाको पावर मावि प्रांगणमा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख छबिलाल पौडेलले सामुदायिक वनहरुले स्थानीय स्तरमा विकास निर्माणका कामहरु गर्दा स्थानीय सरकारसँगको साझेदारीमा गरेमा बजेट दुरुपयोग नहुने बताए । पौडेलले शीतगंगा नगरपालिका सामुदायिक वनहरुको खानी क्षेत्र भएकोले सामुदायिक वनहरुले स्थानीय सरकारले गर्नुपर्ने विकास निर्माणका कामहरु गरेर अहिले उदाहरणीय काम गरेको बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख गीता भाटले सामुदायिक वनहरुले स्थानीय सरकारसँग छलफल नगरी मनलाग्दी ढंगले विकास निर्माणका कामहरु गरेकोले अब सहकार्य गरेर काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेपाल सरकारका उपसचिव राजनकुमार बीसी, वडा नं. १३ का वडाध्यक्ष दुर्गा बीसी, बाणगंगा सव डिभिजनका वरिष्ठ वन अधिकृत अर्जुन चापागाईंले सामुदायिक वनहरुले गरिरहेको विकास निर्माणका कामहरु पारदर्शी उत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समृद्धिका लागि वन कार्यक्रमका फोकल पर्सन तथा शीतगंगा नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले शीतगंगा नगरपालिकाले सामुदायिक वनहरुसँग सहकार्य गरेर विकास निर्माणका कामहरु गरिरहेपनि सामुदायिक वनहरुले आफुखुसी काम गर्दा विकास निर्माणका कामहरूमा एकरुपता आउन नसकेको बताए ।
खनालले वन विकास अन्तर्गत स्थानीय सरकारलाई प्रदेश सरकारले दिनुपर्ने राजस्व समेत नदिँदा विकास निर्माणका कामहरु प्रभावित बनेकाले सामुदायिक वनले सिँधै स्थानीय सरकारको राजस्व खातामा दाखिला गर्ने व्यवस्थापन मिलाउन पहल गर्न डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराए ।
वडा नम्बर १४ का अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षता वडा नम्बर १३ का अध्यक्ष दुर्गा बिसीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १३ र १४ का जनप्रतिनिधि, विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा सहभागीहरूले लैंगिक समानता, सामाजिक समावेशीकरण, सामुदायिक वन व्यवस्थापनको सुदृढीकरण तथा समावेशी विकासका विषयमा छलफल गरेका थिए । कार्यक्रम वन प्राबिधिक रचना पन्थीले सहजीकरण गरेकी थिइन् ।