२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही

shivam cement
मध्यान्ह
२०८१ माघ २३ गते २०:१०
झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । 

घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ सामग्री सम्प्रेषण भएपछि कारबाही गरिएको काउन्सिलले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

‘प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लंघन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ ।’ काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले यस घटनासँग सम्बन्धित रहेर आधार प्रमाण पुष्टि नभएको विषयमा वैयक्तिक गोपनीयता प्रतिकूल हुने किसिमबाट पीडित र आरोपितको नाम, वतन, तस्बिर तथा भिडियो सामग्री सम्प्रेषण गरी पीडित र पीडितका परिवारलाई थप पीडा पुग्ने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने सामग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(९), ५(२)(२),५(४) र ५(१३), महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ को ५(८),(९), जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका, २०७८ को ४(क,ख,ङ र झ) र वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा (३) उल्लंघन गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

काउन्सिलले युट्युब तथा फेसबुकबाट सम्प्रेषण भएका पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजना÷अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने त्यस्ता सामग्री हटाउन भनेको छ । ‘आरोप र शंकाकै आधारमा आफैं अदालतझैं गरी अप्रमाणित विषयलाई दोषी करार गर्ने, वैयक्तिक गोपनीयता प्रतिकूल हुने, महिला/जेष्ठ नागरिक/बालबालिकाको आत्मासम्मानमा आँच पुर्‍याउने सामग्री क्षमायाचनासहित हटाउन प्रेस काउन्सिल नेपाल सम्बद्ध सबैमा आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise