२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

ललितपुरका पत्रकारलाई पोलिगन क्याम्पसमा ५० प्रतिशत छुट

himalayanlife
२०८१ माघ २३ गते २१:४५
Shares
ललितपुरका पत्रकारलाई पोलिगन क्याम्पसमा ५० प्रतिशत छुट

ललितपुर : स्नातकोत्तर तहको अध्ययन गर्ने ललितपुरका पत्रकारलाई पोलिगन क्याम्पसमा पचास प्रतिशत छुट हुने भएको छ ।

बागमती गाउँपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आयोजना गरेको खोजी पत्रकारिता तालिमका अवसरमा क्याम्पस प्रमुख अबिरल थापा र महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । 

महासंघ ललितपुर शाखा र क्याम्पसबीच बुधबार भएको सम्झौता अनुसार तीन लाख पाँच सय रुपैयाँ लाग्ने स्नातकोत्तर तहको अध्ययनका लागि एक लाख पचास हजार रुपैयाँ अध्ययन गर्ने पत्रकारहरुले छुट प्राप्त गर्नेछन् । तीन वर्षसम्म लागू हुने यो सम्झौता पत्र अनुसार महासंघले प्रत्येक वर्ष पाँच जना पत्रकारलाई सिफारिस गर्न सक्ने पोलिगन क्याम्पसका प्रमुख अविरल थापाले जानकारी गराए । 

सम्झौता पत्रमा हस्ताक्षर पश्चात मन्तव्य राख्दै क्याम्पस प्रमुख थापाले पत्रकारितामा झुटो र प्रायोजित समाचार नलेख्न कसरी सचेतना जगाउनुपर्ने आवश्यकता रहेको बताए । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर २०१० देखि स्नातकोत्तर तहको पत्रकारिताको पढाइ सञ्चालन गरिरहेको क्याम्पसले अनलाइन तथा भौतिक माध्यमबाट कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख थापाले जानकारी गराए । 

खोजी पत्रकारिता तालिमको उद्घाटनका अवसरमा मन्तव्य राख्दै बागमती गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चनले पत्रकारहरुलाई स्वच्छ र तथ्यपूर्ण पत्रकारितामा लाग्न आग्रह गरे । उनले यो तालिमले पत्रकारितामा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । 

त्यस्तै, पुराना पत्रकार लक्ष्मण बहादुर बिष्टले उत्कृष्ट पत्रकारिता गर्ने एक महिला र एक पुरुष पत्रकारलाई सम्मान गर्नका लागि अक्षयकोष स्थापना गर्न महासंघ ललितपुर शाखालाई १ लाख रुपैयाँ दिने घोषणा गरे । अक्षयकोषमा राखिएको रकमको ब्याजबाट प्रत्येक वर्ष उत्कृष्ट पत्रकारलाई पुरस्कार प्रदान गर्न सकिने उनले बताए । 

महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले पत्रकारको क्षमता अभिवृद्धिका लागि खोज पत्रकारिता तालिम आयोजना गरिएको बताउँदै तालिमबाट सहभागी पत्रकारले लाभ हासिल गर्ने विश्वास व्यक्त गरे । तालिममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवम् अग्रज पत्रकार भवानी बराल, पत्रकार शिरोमणि ढुंगाना, डिल्ली आचार्य, बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, निवर्तमान लेखासमिति संयोजक लेखनाथ न्यौपानेले पत्रकारहरुलाई खोजी पत्रकारिताका बारेमा सहजीकरण गरेका थिए । बागमती गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन शर्माले गाउँपालिकाले २०८०/८१ र २०८१/८२ को हालसम्म सम्पादन गरेका कामहरुको विवरण प्रस्तुतीकरण गरेका थिए । 

सम्बन्धित खबर