काठमाडौं : वैदेशिक रोजगारीमा मलेसियालगायत विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया लैजाने भन्दै १२ लाख लिएर लामो समयसम्म झुक्याएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको जाहेरीका आधारमा नवलपरासीपूर्व कावासोतीका दीपेश महतोलाई पक्राउ गरेको छ । उनले ४ जनाबाट उक्त रकम लिएको प्रहरीले बताएको छ ।
त्यस्तै, नवलपरासी हुप्सेकोटकी हिमकला खाम्चा मगर पनि १ जनालाई सर्बिया लैजाने भन्दै ८० हजार लिएर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ ।
यसरी नै, वैदेशिक रोजगारीमा न्युजिल्यान्ड पठाइदिने भन्दै १ जनाबाट १ लाख लिएर सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा प्रहरीले चितवन खैरहनीका बलराम सिलवाललाई पनि पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताइएको छ ।