काठमाडौं : बाग्लुङ जिल्लाको नरेठाटीमा एक मध्यवर्गीय परिवारमा जन्मिएका हुन् प्रकाश गैरे । पहाडको उकाली–ओराली, देउराली, मेलापात, खेतीपाती आदि गर्दै हुर्किएका उनी २०४७ सालमा चितवनको भरतपुरमा सपरिवार बसाइँ सरी आएपछि बाँकी अध्ययन त्यहीँ गरे ।
माध्यमिक तहको पढाइ गर्दै गर्दा साथीभाइको लहलहैमा लागेर हस्पिटालिटीको काम सिक्ने निधो गरी तालिमका लागि भारतको नयाँ दिल्ली हान्निए । त्यहाँ पुगेपछि बिरानो मुलुक बिराना मान्छे, भाषिक समस्या र विभिन्न बाधा अड्चन रहे ।
भारतीय मसालेदार खानाहरूका बारेमा अनुभवी सेफहरूसँगै काम गर्ने र ज्ञान लिने मौका पाए । झन्डै ६ वर्षसम्म भारतीय रेस्टुरेन्टमा काम गरेपछि प्रकाश एक अनुभवी सेफको रूपमा निखारिएर निस्किए । जब हातमा सीप, मनमा देशको माया अनि परिवारको न्यानोपनको कमी आदिले सतायो अनि आफ्नै जन्मभूमि नेपाल फर्किए ।
नेपाल फर्किएपछि काभ्रे जिल्लाको बनेपा बजारस्थित एक रेस्टुरेन्टमा काम गर्न थाले । नेपालमा नेपाली खानालाई कसरी स्थानीय स्रोत र साधनलाई प्रयोगमा ल्याई उत्कृष्ट खाना पस्किन सकिन्छ र स्थानीय तथा राष्ट्रिय तहमा ख्याति कमाउन सकिन्छ भनेर अगाडि बढे ।
बनेपामा काम गर्ने क्रममा सेफका रूपमा काम गरिरहेका उनलाई उनको काम गर्ने शैली देखेर प्रशासनले १ वर्षमै हेड सेफमा बढुवा गरेको कुराले उनलाई नयाँ खानाका परिकार बनाउन आत्(मबल बढेको कुरा सुनाउँछन् । बनेपामा काम गर्दा उनी यति स्वादिला परिकारहरू यति कुशलताका साथ बनाउँथे कि उनले बनाएको खाना खान आउने मान्छेको उपस्थिति बाक्लो हुन्थ्यो ।
प्रकाश गैरेले आफ्नो हस्पिटालिटीको यात्रा भारतबाट सुरु गरेका हुनाले उनी बिशेषगरी मसालेदार खानाहरू नान, रोटी, इन्डियन करी, तन्दुरीलगायत स्न्याक्स विशेष निपुणताका साथ बनाउँथे । उनले बनाएका खानाको यति धेरै तारिफ हुन्थ्यो कि उनले बनाएको परिकार खान काठमाडौंबाट मान्छे आएर घण्टौंसम्म कुरेर पनि खाना खान्थे ।
प्रकाश एकदमै मिहिनेती, सरल अनि मृदुभाषी स्वभावका छन् । ग्राहकहरू सजिलै उनको व्यक्तित्वसँग पनि आकर्षित हुन्छन् । प्रकाशले केही वर्षदेखि विभिन्न किसिमका पाककलासम्बन्धी तालिम पनि दिने गरेका छन् । प्रकाशको मान्यता छ कि मानिसले बाँच्नका लागि स्वस्थ खाना खान जरुरी छ र स्वस्थ खाना खान आफैंले खानाका बारेमा जान्नु आवश्यक छ । आफूले पनि स्वस्थ मीठो खाना खाएर निरोगी भई अरूलाई पनि स्वस्थ र मीठो खाना खुवाएर स्वस्थ बनाउने पुण्यको काम हो भन्ने मान्यता पनि राख्छन् उनी ।
उनलाई विद्यालय तथा कलेजहरूले पनि समयसमयमा आफ्ना विद्यार्थीहरूलाई एक सफल सेफ र सफल व्यवसायीका रूपमा उत्प्रेरणा तथा करिअर काउन्सिलिङका कक्षाहरू लिन बोलाइरहन्छन् ।