२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

वन डढेलो नियन्त्रण गर्न ‘एक्सन प्लान’ बनाउन आग्रह

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ २४ गते २१:३३
वन डढेलो नियन्त्रण गर्न ‘एक्सन प्लान’ बनाउन आग्रह

अर्घाखाँची : हिउँद याममा हुने वन डढेलो नियन्त्रणका लागि एक्सन प्लान बनाएरै लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा वन डढेलो व्यवस्थापन सम्बन्धी तालिमको समापन कार्यक्रमका सहभागीहरुले डढेलो नियन्त्रणमा सबैको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारी लगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको बताए । गाउँपालिकाकी उपाध्यक्ष नर्मदा गौतमले जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापक्रमले  पनि डढेलो समस्या झन् जटिल बनाएको  बताइन् । 

गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष युवराज ज्ञवालीले डढेलोेका कारण हरेक वर्ष वन, जैविक विविधता र सामाजिक, आर्थिक क्षेत्रमा पुग्ने क्षतिको मूल्यांकन सरकारले गर्न नसकेको बताए । 

वडा नं.६ का अध्यक्ष कृष्णप्रसाद पौडेलले स्थानीय समुदाय, सरोकारवाला,  निजी क्षेत्रलगायत सबै विकासका काम गर्ने निकाय मिलेर वन डढेलोविरुद्ध साझा प्रतिबद्धताको खाँचो रहेको बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले विश्वव्यापी रूपमा नै वन डढेलो प्रकोप बढिरहेको सन्दर्भमा नेपाल जस्तो सानो देशले यसको प्रकोपबाट बच्न अझ विशेष ध्यान  दिनुपर्ने बताए । 

डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले डढेलोले प्रत्येक वर्ष वन कार्यालय र उपभोक्ता समुहले, संरक्षण गरेका वनमा रहेका बिरुवा  तथा  बहुमूल्य जैविक विविधता र सम्पदासमेत खरानी बनाउँदा  राज्यलाई ठूलो क्षति हुने गरेको बताए । 

सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले संघीय, प्रदेश, स्थानीय तहको  कानुनले पनि जथाभावी डढेलो लगाउनुलाई अपराध नै मानेको भन्दै मुलुकी ऐन, २०२०मा आगो लगाउने कार्यलाई फौजदारी अभियोगका रूपमा लिइएको बताए । 

डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना तथा गण्डकी जलाधार उत्थान आयोजना राष्ट्रिय प्रकृति सरक्षण कोषको सहयोगमा भएको तालिममा पाणिनी वडा नं. १ देखि ८ सम्मका वडाध्यक्ष तथा प्रतिनिधिहरु, सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise