२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

लोकतान्तिक र गणतान्त्रिक तथा प्रगतिशील र समाजवादीबीच तालमेल

draupadi film
२०८१ माघ २५ गते ०६:२५
लोकतान्तिक र गणतान्त्रिक तथा प्रगतिशील र समाजवादीबीच तालमेल

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि व्यवसायीहरूबीच ताममेल र ध्रुवीकरणको प्रक्रिया तीव्र देखिएको छ । संघले आगामी फागुन २ गते निर्वाचनको मिति तोकेपछि विभिन्न पक्ष प्यानल बनाइ चुनावमा जाने बताइए पनि अन्ततः व्यवसायीहरू नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन, नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र संघका पूर्व प्रथम उपाध्यक्ष कुमुद खनाल गरी तीन प्यानलमा समेटिएर प्रतिस्पर्धा गर्ने गरी ध्रुवीकरण भएको छ ।

नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एशोसिएसनबीच चुनावी तालमेलको सहमति भएको छ । सहमतिअनुसार एशोसिएसन र मञ्चको संयुक्त प्यानलमा गणतान्त्रिक मञ्चको सिफारिसमा सचिव र २ जना व्यवसायी  सदस्य उम्मेदवार बन्ने छन् । एशोसिएसन अध्यक्ष दीपक थापा र वार्ता समिति सदस्य मछिन्द्र शेर्मा तथा मञ्चका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङ, महासचिव कुन्छादोर्जे दिमदोङ, सचिव बासुदेव पुडासैनी र वार्ता टोली सदस्य केदारनाथ अधिकारी संलग्न टोलीसँग छलफलपछि सहकार्यको लिखित सहमति भएको छ । मञ्चका अध्यक्ष धनलाल जैसी राजधानी बाहिर रहेका कारण कार्यवाहक अध्यक्ष तामाङलाई वार्ताको जिम्मेवारी दिइएको थियो । 

मञ्चले यसअघि संघका पूर्वप्रथम उपाध्यक्ष रोज ओभरसिज प्रा.लि.का संचालक रामप्रसाद भान्तनाको नेतृत्वमा उम्मेदवारी सार्वजनिक गरेको थियो । तर एशोसिएसनसँग तालमेल भएपछि आकृति रिक्रुटिङ प्रा.लि.का संचालक तथा मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङको नेतृत्वमा युनिभर्सल एचआर सोलुसन प्रा.लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि.की संचालक रेखा शर्मा, इगल मेनपावर कन्सल्ट्यान्ट प्रा.लि.का संचालक कृष्ण ढकाल र रोजबर्ड एचआर प्रा.लि.का संचालक मेघबहादुर राउत मध्ये २ जनालाई सदस्यको उम्मेदवार बनाउने सम्भावना छ । 

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच २ दिनअघि नै तालमेलको सहमति भइसकेको छ । संगठनको सिफारिसमा द्वितीय उपाध्यक्ष, सचिव र केही सदस्य उम्मेदवार बन्नेछन् । संगठनका महासचिव इम्प्लोइमेन्ट लिंक नेपाल प्रा.लि.का संचालक मधुकर रिजाल, द्वितीय उपाध्यक्ष र सचिवमा  संगठनका सचिव तथा कन्फिडेन्ट इन्टरनेशनल म्यानपावर प्रा.लि.का संचालक अनिल बोगटीले उम्मेदवारी दिने बताइएको छ ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले प्यानल सार्वजनिक गर्ने गृहकार्य पूरा नभएको र शुक्रबार उम्मेदवारी सार्वजनिक गर्ने बताएको छ । मञ्चले एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच भएको तालमेलका आधारमा पदाधिकारीसहित प्यानलका उम्मेदवारको नाम तय गरेकोे बताएको छ ।

सो प्यानलको अध्यक्षमा संघका पूर्वमहासचिव तथा एचआर इन्टरनेशनल सर्भिस प्रा.लि.का संचालक नरेश गेलाल र महासचिवमा मञ्चका अध्यक्ष तथा रावल इन्टरनेशनल प्रा.लि.का संचालक जनक रावलको उम्मेदवारी तय भइसकेको छ । प्रथम उपाध्यक्षमा अल करिम ह्युमन रिसोर्स प्रा.लि.का संचालक सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा.लि.का संचालक बैकुण्ठ पौडेल वैभव, कोषाध्यक्षमा धनु सिजाली उम्मेदवार बन्ने बताइएको छ । अल करिमका संचालक गुरुङ हाल संघको द्वितीय उपाध्यक्ष र अल्फाका पौडेल कार्यसमिति सदस्य हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले कसैसँग तालमेल नगर्ने बताएको छ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट व्यवसायी संगठित भइसकेका छैनन् । ठूला दल निकट व्यवसायी उनीहरूलाई ध्यान पनि दिएका छैनन् ।

ADV

सम्बन्धित खबर

Advertise