काठमाडौं : सरकारले चालू आर्थिक वर्षको बजेट १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको ६ महिनामा अपेक्षित रूपमा राजस्व संकलन, वैदेशिक अनुदान तथा ऋण प्राप्ति र पुँजीगत खर्च नभएपछि कुल विनियोजित बजेटको आकार ९ प्रतिशतले घटाएका हुन् ।
निवर्तमान अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेका थिए । तर, अर्थमन्त्री पौडेलले बजेटको अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड रुपैयाँ मात्र खर्च हुने संशोधित अनुमान गरेका छन् ।
अर्थमन्त्री पौडेलले नयाँ बजेटमा चालूतर्फ विनियोजित रकमको ९० दशमलव २४ प्रतिशत अर्थात् १० खर्ब २९ अर्ब ३० करोड, पुँजीगतर्फ ८५ प्रतिशत अर्थात् २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ खर्च हुनेगरी संशोधन गरेका हुन् ।
आर्थिक वर्ष २०८१÷०८२ मा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । अर्धवार्षिक समीक्षामार्फत सरकारले राजस्वको लक्ष्यसमेत घटाएको छ । चालू आर्थिक वर्षको बजेटमा १४ खर्ब १९ अर्ब राजस्व संकलनको लक्ष्यबाट १ खर्ब ३३ अर्ब रुपैयाँ घटाएको हो । अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री पौडलले १२ खर्ब ८६ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेका छन् ।
यस्तै, चालू आर्थिक वर्षका लागि तय गरिएको वैदेशिक अनुदानको लक्ष्यमा ५२ अर्ब ३३ करोड रुपैयाँबाट घटाएर ३६ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँबाट घटाएर १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ संशोधित अनुमान गरिएको छ ।
अर्धवार्षिक समीक्षामा प्रदेशलाई ३४ अर्ब ८९ करोड २२ लाख रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ५० अर्ब २६ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख छ ।
अर्थमन्त्री पौडेलले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण भए पनि लक्ष्यको नजिक पुग्ने बताए । तरलता र न्यून ब्याज दरको सुविधाले आर्थिक वृद्धि दर लक्ष्यको नजिक हुने अनुमान उनको छ । बढ्दो अनिवार्य दायित्व र प्राकृतिक विपत्तिले सिर्जित थप दायित्वले बजेट सन्तुलन कायम गर्नु चुनौतीपूर्ण देखिएको उनको तर्क छ । सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ५२ अर्ब ५५ लाख खर्च भइसकेको र चालू खर्चको संशोधित अनुमानका आधारमा आर्थिक वर्षको बाँकी अवधिमा थप ५ खर्ब ७७ अर्ब २९ करोड ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा भएको खर्च र बाँकी अवधिमा हुने खर्चको अनुमानसमेतका आधारमा चालू आर्थिक वर्षमा चालू खर्चतर्फ विनियोजित रकमको ९० दशमलब २४ प्रतिशत अर्थात् १० खर्ब २९ अर्ब ३० करोड खर्च हुने संशोधित अनुमान अर्थमन्त्री पौडेलले गरेका छन् ।
यस्तै, पुँजीगत खर्चतर्फ चालू आर्थिक वर्षको ६ महिनामा ५६ अर्ब ९३ करोड ८४ लाख खर्च भएको र बाँकी अवधिमा २ खर्ब ४२ अर्ब ५६ करोड २५ लाख पुँजीगत खर्च हुने अनुमान छ ।
चालू आर्थिक वर्षमा पुँजीगततर्फ विनियोजनको ८५ प्रतिशत अर्थात् २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख खर्च हुने संशोधित अनुमान छ ।
१५ जेठमा बजेट ल्याउँदा ठूलो आकारको बजेट ल्याउने तर कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि समीक्षामार्फत बजेटका कार्यक्रम र आकार नै घटाउने काम पछिल्ला वर्षमा हुँदै आएको छ ।