काठमाडौं : आन्तरिक कलहका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लगातार चार पटक स्थगित भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि अवरुद्ध बनेको नेकपा बैठक फेरि बस्न सकेको छैन । बुधबार स्थगित बैठक आज एघार बजे बोलाइएको छ ।
तर, आजको बैठक पनि बस्ने निश्चित छैन । किनभने, बिहीबार शीर्ष नेताहरु बीच कुनै सम्वाद हुन सकेन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने कार्यक्रम तय भएको थियो । तर, प्रचण्ड बिहीबार बालुवाटार गएनन् । यसअगाडि भने दुई अध्यक्ष ओली र प्रचण्ड बीच लगातार सम्वाद हुँदै आएको थियो ।
असार १७ गते प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई समेत जानकारी नदिइ बैठक स्थगित गरेपछि नेकपा बैठक डेटलकमा परेको छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा युवा–विद्यार्थीले प्रधानमन्त्रीको पक्षमा सडक प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले मदन जयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन भारतीय दूतावास सक्रिय भएको र नेपालका नेताहरुले समेत राजीनामा मागेको भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री र अध्यक्ष पदबाट उनको राजीनामा मागिएको छ । तर, दुवै पद नछोड्ने दावी प्रधानमन्त्री ओलीले गरिरहेका छन् ।
हस्तक्षेपको संकेत
शीर्ष नेताहरुबीच सम्वाद हीनताको अवस्था सिर्जना भइरहेका बेला दोस्रो तहका नेताहरुले भने नेतृत्व नसच्चिए हस्तक्षेपको संकेत दिएका छन् । बिहीबार सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको दोस्रो तहका नेताहरुले हस्तक्षेपको संकेत दिएका हुन् । उनीहरुले पार्टी एकता जोगाउने र आवश्यक परे हस्तक्षेपको संकेत गरेका हुन् । दोस्रो तहका नेताहरुमा घनभुसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, मणि थापा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, टोपबहादुर रायमाझी लगायत एघार जना छन् । यो समूहको नेतृत्व कृषि मन्त्री रहेका भूसालले गरिरहेका छन् ।
उनीहरुले पार्टी एकतालाई असर पार्नेगरी सडक प्रदर्शन, धर्ना लगायत रोक्ने निर्णय गरेका छन् । भेला पछि दोस्रो तहका नेताहरुको तर्फबाट भूसालले अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमकल दाहाल लगायत शीर्ष नेताहरुलाई भेटेका थिए । बिहीबारको छलफल पछि भूसालले दोस्रो तहका नेताहरु एकतालाई असर पार्ने सबै गतिविधि रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies