काठमाडौं ।
वैदेशिक रोजगार विभागले एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाएका म्यानपावर कम्पनीको नवीकरण निवेदन दर्ता शुरु गरेको छ । गतवर्ष मलेसिया बन्द रहेको र चालु आर्थिक वर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण वैदेशिक रोजगारीमा सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण गर्ने व्यवस्था गर्न वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अनुसार मन्त्रिपरिषदबाट बाधा अडकाउ फुकाउ आदेश जारी गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रश्ताव लगेको अवस्थामा विभागले सयभन्दा कम कामदार पठाउने म्यानपावरहरुको नवीकरण निवेदन दर्ता गरेको हो । नवीकरण भने मन्त्रिपरिषद्को निर्णयपछि मात्र हुने छ । शुक्रवार आधा दर्जनबढी म्यानपावर कम्पनीले नवीकरणका लागि लाग्ने दश हजार शुल्क बुझाएको रसीदसहित फाईल बुझाएका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले वार्षिक सय जना कामदार पठाउन नपाएका तर ईजाजत नवीकरण गर्नुपर्ने व्यवसायीहरुले ईजाजतपत्र नवीकरणको लागि विभागमा निवेदन दर्ता गराउन आग्रह गरेका छन् । महासचिव श्रेष्ठले व्यवसायीहरुलाई संक्षिप्त सुचना पठाउँदै भनेका छन्, - “ आदरणीय व्यवसायीज्यूहरु, वार्षिक १०० जना कामदार नपठाउँने कम्पनीहरुको इजाजत नविकरणको प्रस्ताव हाल मन्त्रीपरिषदमा निर्णयको प्रक्रियामा रहेको हुँदा असार मसान्त भित्र इजाजत नविकरण गर्नु पर्ने कम्पनीहरुले वैदेशिक रोजगार विभागमा इजाजत नविकरणको निवेदन दर्ता गराउन हुन सुचित गरिन्छ ।”
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले विभाग र संघ वीचको छलफलपछि व्यवसायीहरुको नवीकरण निवेदन गर्न शुक्रवारबाट शुरु गरिएको मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए । महानिर्देश दाहालले निवेदन दर्ता शसर्त रहेको बताए । उनले भने, ‘ मन्त्रिपरिषदबाट वाधा अड्काउ फुकाउ आदेश आएमा व्यवसायीहरुको इजाजतपत्र नवीकरण हुन्छ, यदि आउन सकेन भने महानिर्देशकले निवेदन दरपीठ गरिदिन्छ ।’
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले एक वर्षका लागि सबै म्यानपावर कम्पनीको ईजाजतपत्र नवीकरण गर्ने व्यवस्था गर्न मन्त्रिपरिषदमा प्रश्ताव लगेको बताएका छन् । मन्त्री यादवले बुधबार सॉझ मध्यान्हसंग संक्षिप्त किरा गर्दै अघिल्लो बर्ष सरकारले नै १६ महिना मलेसियामा कामगार पछाउन बन्द गरेको र यो बर्ष कोरोना संक्रमणका कारण सम्पूर्ण श्रम स्वीकृति बन्द गरिएकोले एक पटकका लागि एक सय कामदार नपठाएका म्सानपावरवाई पनि ग्रेस दिएर नवीकरणको मौका दिन आफुले मन्त्रिपरिषदमा प्रस्ताव लगेको बताएका थिए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा पनि मन्त्री यादवले उक्त कुरा दोहोर्याएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies