२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

अपराध नियन्त्रणविरुद्ध कठोर रुपमा प्रस्तुत हुन निर्देशन

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ २५ गते २०:४६
अपराध नियन्त्रणविरुद्ध कठोर रुपमा प्रस्तुत हुन निर्देशन

अर्घाखाँची : लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी)दानबहादुर कार्कीले गुण्डागर्दी चोरी, निकासी, जुवातास, हिंसा लगायतका गलत कामविरुद्ध प्रहरी कठोररुपमा प्रस्तुत हुने बताएका छन् ।

शुक्रबार  जिल्ला प्रहरी कार्यालय  अर्घाखाँचीको मातहत बल्कोटमा निर्माण सम्पन्न भएको बल्कोट प्रहरी चौकीको भवन उद्घाटन गर्दै उनले समाजमा हुने खराब क्रियाकलापको अन्त्य गर्नका लागि नेपाल  प्रहरी कठोर बनेर काम गर्ने बताए । 

प्रहरी नायव महानिरीक्षक कार्कीले नियम कानुन  विपरीतका कार्यमा प्रहरी संगठन शून्य सहनशीलताको नीति अवलम्बन गरेकोले सोही अनुरुप काम गर्नुपर्नेमा जोड दिए । ‘प्रहरी राम्रो मात्रै काम गर्नका लागि हो, नराम्रो गर्ने छुट कसैलाई छैन’ उनले भने ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको स्पष्ट पारे । 

समुदाय–प्रहरी साझेदारी अन्तर्गतको सहकार्यमा सुरक्षा लगायतका विभिन्न जनचेतनामूलक कार्यहरुमार्फत शान्तिसुरक्षा कायम गरी सुरक्षित समाजको निर्माण गरी विकासका गतिविधिमा समेत सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्यलाई सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको  कार्कीले बताए । नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यावसायिकताको साथ प्रस्तुत हुनुपर्ने कार्कीले बताए । 

नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयवासीहरूले भय र त्रासरहित वातावरणमा आ–आफ्नो दैनिक क्रियाकलाप, उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।

डीआइजी कार्कीले समाजमा अशान्ति र अराजकता फैलाउने उश्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्नेविरूद्ध खरो रूपमा प्रस्तुत भइ कुनै किसिमको दबाब र प्रभावमा नपरी शून्य सहनशीलताका साथ कार्य सम्पादन गर्न पनि प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । 

नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि उनले आग्रह समेत गरे ।

‘अपराध नियन्त्रण गर्ने प्रमुख भनेकै सूचना हो,’ उनले भने, ‘जुन सूचना नागरिकसँग हुन्छ, प्रहरीलाई सही सूचना समयमा दिएमा प्रहरीलाई अनुसन्धान गर्न सहज हुन्छ र अपराधजन्य घटना न्यूनीकरण गर्न पनि सजिलो हुन्छ ।’ कार्कीले अर्घाखाँची प्रहरीले अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको बताए । 

कार्यक्रममा छत्रदेव गाउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्ल, पत्रकार महासघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य राखेका थिए । बल्कोटमा निर्माण कार्य सम्पन्न भएको सो प्रहरी चौकी २ करोड ९२ लाखको लागतमा रन्जित रन्जन कन्ट्रक्सनले निर्माण सम्पन्न गरेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise