२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

इस्लामी समाजको निर्माणमा नारी

hardik ivf
मध्यान्ह
२०८१ माघ २७ गते ०८:१७
इस्लामी समाजको निर्माणमा नारी

–कमरुद्दीन रियाजी

निःसन्देह, इस्लामी समाज एक आदर्श समाज हो, जसको आधार न्याय, परहेजगारी, भातृत्व र नैतिक मूल्यहरूमा हुन्छ । यो समाजको निर्माणमा पुरुषहरू जत्तिकै नारीहरूको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण छ । इस्लामले महिलालाई जुन सम्मानजनक स्थान प्रदान गरेको छ, त्यो कुनै पनि अन्य संस्कृतिमा पाइँदैन । नारी केवल कोमल स्वभावकी व्यक्ति मात्र नभई, सन्ततिहरूको पालन–पोषण, सामाजिक विकास र धार्मिक तथा बौद्धिक उन्नतिमा मुख्य भूमिका खेल्ने शक्ति पनि हुन् । यहाँ इस्लामी समाजको निर्माणमा मुस्लिम नारीहरूको प्रमुख भूमिकाबारे संक्षेपमा चर्चा गरिएको छ ।

महिलाको भूमिका

परिवार कुनै पनि समाजको आधारभूत एकाइ हो र नारी यसको मुख्य निर्माता हुन् । एक सद्गुणी, धार्मिक र सचेत आमाले मात्र यस्ता पुस्ता तयार गर्न सक्छिन्, जसले इस्लामी मूल्य मान्यतामा चल्दै समाजमा सुधार ल्याउन सक्छन् । नबी करीम (सल्लल्लाहु अलैहि वसल्लम)ले भनेका छन्, ‘तिमीहरू प्रत्येक जना जिम्मेवार हौ र तिमीहरूको जिम्मेवारीको बारेमा तिमीहरूलाई सोधिनेछ । एक महिला आफ्ना पतिका घर र सन्तानकी रक्षक हुन्, र तिनको जिम्मेवारीबारे तिनलाई प्रश्न गरिनेछ ।’ 

यस हदीसले यो सत्य उजागर गर्छ कि नारीहरू केवल शारीरिक हेरचाहको मात्र होइन, बरु नैतिक, आध्यात्मिक र बौद्धिक प्रशिक्षणको पनि उत्तरदायी हुन्छन् ।

इस्लामले नारी शिक्षालाई पुरुष शिक्षा जत्तिकै महत्त्व दिएको छ । नबी करीम (सल्लल्लाहु अलैहि वसल्लम)ले भनेका छन्, ‘ज्ञान प्राप्त गर्नु प्रत्येक मुस्लिम पुरुष र महिलामाथि अनिवार्य छ ।’ शिक्षित महिलाहरूले मात्र आफ्ना सन्तानहरूको सही मार्ग निर्देशन गर्न सक्छन्, साथै समाज सुधार, नेतृत्व र विकासमा प्रभावकारी भूमिका खेल्न सक्छन् । इस्लामी इतिहासमा, हजरत आयशा (र.अ.), हजरत फातिमा (र.अ.), हजरत अस्मा बिन्त अबी बक्र (र.अ.) जस्ता महान महिलाहरूले फिकह, हदीस, चिकित्सा र शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदान दिएका छन् ।

महिलाहरू इस्लामी मूल्यमान्यता र नैतिकता संरक्षण गर्ने प्रमुख अभिभावक हुन् । तिनको लज्जाशीलता, शुद्धता र नैतिकता समाजमा स्थिरता र सद्गुण फैलाउन मद्दत गर्छ । कुरानमा अल्लाह तआला भन्छन्, ‘मुस्लिम पुरुषहरू र मुस्लिम महिलाहरू एकअर्काका सहायक हुन्, तिनीहरू असल कार्य गर्न आदेश दिन्छन् र नराम्रो कार्यबाट रोक्छन् ।’

यस आयतले महिलाहरूको सामाजिक भूमिकालाई स्पष्ट पार्छ कि तिनीहरू न केवल व्यक्तिगत रूपमा सुधार गर्न सक्छन्, बरु समाजको उत्थानमा पनि योगदान दिन सक्छन् ।

आर्थिक र राजनीतिक क्षेत्र

इस्लामले महिलाहरूलाई आर्थिक स्वतन्त्रता प्रदान गरेको छ । उनीहरू आफ्नै सम्पत्तिको मालिक हुन सक्छन्, व्यापार गर्न सक्छन् र आफ्ना आवश्यकताहरू पूरा गर्न सक्छन् । हजरत खदीजा (र.अ.) न केवल नबी करीम (सल्लल्लाहु अलैहि वसल्लम) की सम्मानित पत्नी थिइन्, तर एक सफल व्यापारी पनि थिइन् । यसैगरी, हजरत अस्मा बिन्त अबू बक्र (र.अ.) एक बुद्धिमान महिला थिइन्, जसले परिवारको पालनपोषण मात्र गरेनन्, खजूरका बगानहरू पनि व्यवस्थापन गर्थिन् र व्यापारमा संलग्न थिइन् ।

इस्लामी इतिहासमा, महिलाहरूले राजनीतिक क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् । हजरत आयशा (र.अ.) एक अत्यन्त बुद्धिमान र फिकह तथा हदीसमा विज्ञ महिला थिइन् । खलिफा उस्मान (र.अ.) र हजरत अली (र.अ.)को शासनकालमा तिनले राजनीतिक मामिलाहरूमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । हजरत उम्मे सलमा (र.अ.), नबी करीम (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी, एक असाधारण राजनीतिक सूझबूझ भएकी महिला थिइन् । सुलह–ए–हुदैबियाको घटनामा, जब सहाबाहरू दुविधामा परेका थिए, तब तिनकै सुझावमा नबी करीम (सल्लल्लाहु अलैहि वसल्लम)ले सही निर्णय लिएका थिए ।

इस्लामी इतिहासमा थुप्रै उदाहरणहरू पाइन्छन्, जहाँ महिलाहरूले युद्धमा घाइतेहरूको उपचार, रक्षात्मक सेवाहरू र सामाजिक कल्याणमा उल्लेखनीय भूमिका खेलेका छन् । हजरत रुफैदा अल–असलमिया (र.अ.) मदिनाकी एक कुशल नर्स थिइन्, जसले युद्धहरूमा घाइतेहरूको हेरचाह गर्थिन् ।

निष्कर्ष

यसबाट स्पष्ट हुन्छ कि इस्लामी समाजको निर्माणमा महिलाहरूको भूमिका पुरुषहरू भन्दा कुनै पनि प्रकारले कम छैन । आमा, बहिनी, पत्नी र छोरीको रूपमा तिनीहरूले इस्लामी मूल्य मान्यताहरूको प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । यदि महिलाहरू धार्मिक र दुनियावी शिक्षाबाट सुसज्जित हुन्छन्, इस्लामी सिद्धान्तहरूमा अडिग रहन्छन् र सामाजिक भलाइमा भाग लिन्छन् भने एक आदर्श इस्लामी समाजको स्थापना सम्भव छ । इस्लामले महिलालाई प्रदान गरेको अधिकार र सम्मानलाई सही तरिकाले उपयोग गरियो भने मुस्लिम समाज सम्पूर्ण मानव जातिका लागि उत्कृष्ट उदाहरण बन्न सक्छ ।

ADV

सम्बन्धित खबर

Advertise