काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले राजधानी शहर नयाँ दिल्लीमा २७ वर्षपछि आफ्नो सरकार बनाउने भएको छ ।
बुधबार भएको दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार बनाउने अवसर पाएको हो ।
दिल्लीको ७० सदस्यीय विधानसभामा भाजपाले ४७ सिटमा जित हासिल गरेको छ । थप १ सिटमा अग्रता लिइरहेको छ । विधानसभाको आधा अर्थात् ३५ सिट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न सक्छ ।
दिल्लीमा भएको जितपछि प्रधानमन्त्री मोदीले दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराखिने बताएका छन् । उनले भनेका छन्, ‘विकासको जित भएको छ, सुशासनको विजय भएको छ ।’
सन् २०१३ यता दिल्ली सरकार संचालनको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले २१ सिटमा चित्त बुझाएको छ ।
आपका नेता पूर्वमुख्यमन्त्री केजरीवालले दिल्लीको विधानसभामा सिट गुमाएका छन् । उनी भाजपाका उम्मेदवार प्रवेश वर्मासँग ३ हजारभन्दा बढी मतान्तरले पराजित भएका छन् । आपका अर्का शीर्ष नेता मनीष सिसोदियाले पनि सिट गुमाएका छन् । केजरीवालालाई पराजित गरेसँगै वर्माको नाम भावी मुख्यमन्त्रीका रूपमा आएको छ ।
४७ वर्षीय वर्मा दिल्लीका पूर्वमुख्यमन्त्री तथा भाजपाका पूर्वउपाध्यक्ष साहिबसिंह बर्माका छोरा हुन् । निर्वाचन अभियानका क्रममा उनले साबरमतीको जस्तै यमुना नदीमा रिभरफ्रन्ट बनाउने, झुपडीमा बस्नेलाई घर दिने, पूर्वाधार निर्माण गर्ने, ५० हजारलाई सरकारी जागिर, फ्लाईओभर, प्रदूषणमुक्त राष्ट्रिय राजधानी बनाउनेलगायतका थुप्रै वाचा गरेका थिए ।
निर्वाचनमा आफ्नो हार स्वीकार गर्दै उनले भनेका छन्, ‘जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताका साथ स्वीकार गर्छौं ।’ उनले दिल्ली निर्वाचन परिणामलाई लिएर भाजपालाई बधाई दिएका छन् ।
देशको राजधानी शहर भएका कारण पनि दिल्ली विधानसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए ।
मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो । तर, पछिल्लो समय केजरीवालसहित उनको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ । केजरीवाल र आपका नेताहरूले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् ।
भाजपाका लागि राजधानी शहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा सीमित छैन । सन् १९९८ यता राजधानीमा सत्ताबाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्त्वपूर्ण आधार पाएको छ ।
महाराष्ट्र, छत्तीसगढलगायतका राज्यमा हालैका विधानसभा निर्वाचनहरूमा सफलता हासिल गरेपछि भाजपाले आफ्नो सम्पूर्ण ध्यान दिल्ली निर्वाचनमा लगाएको थियो ।
भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेसनल कांग्रेस पनि दिल्ली निर्वाचनमा सहभागी छ । तर, यो दलले कुनै सिटमा जित्न सकेको छैन ।
भाजपाका तर्फबाट दिल्लीमा पछिल्लो पटक सन् १९९८ मा सुष्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन् ।
३ डिसेम्बर १९९८ मा मुख्यमन्त्री बनेकी शिला दीक्षितले ३ कार्यकाल चलाएकी थिइन् । त्यसपछि केजरीवालले २ कार्यकाल शासन गरेका थिए ।
कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो । तर, भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्याएका थिए ।
निर्वाचनमा ६० प्रतिशतभन्दा धेरै मतदान भएको थियो । अधिकांश एक्जिट पोलहरूले दिल्लीमा भाजपाको स्पष्ट बहुमत पुग्ने प्रक्षेपण गरेका थिए ।
संघ प्रशासित दिल्लीको शासन व्यवस्था अनौठो छ । सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापन जस्ता विषयमा मुख्य निर्णय लिने अधिकार संघीय सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग हुन्छ ।
विधानसभाले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार राख्छ ।
प्रतिस्पर्धी पार्टीले संघीय सरकार र राज्य सरकार संचालन गर्दा अधिकार प्रयोगका विषयमा केन्द्र र राज्य सरकारबीच टकराव देखिने गरेको छ ।
अधिकार बाँडफाँटको यस्तो संरचनाका कारण पनि दिल्लीमा चुनावी नाराहरू राजनीतिकभन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित देखिएका छन् ।
निर्वाचनमा आप र भाजपा दुवैले सरकारी विद्यालयहरूमा सुधार, निःशुल्क स्वास्थ्य सेवा र महिलाहरूका लागि भत्ताको नारा अघि सारेका थिए ।
गत साता मात्र सार्वजनिक भएको भारतको बजेटमा मध्यम आय भएका मानिसहरूका लागि कर छुटको घोषणा भएको थियो । मध्यम आय भएका मानिसहरूको उच्च जनसंख्या बसोबास गर्ने दिल्ली निर्वाचनमा त्यसको फाइदा आफूलाई पुग्ने भाजपाको आँकलन थियो ।
यसअघि भएको आमनिर्वाचनमा भारतको संसद्मा भाजपाले बहुमत गुमाएसँगै घटेको ठानिएको प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता दिल्ली निर्वाचनको सफलताले जोगाइदिएको विश्लेषकहरूले बताएका छन् ।
दिल्लीमा पहिलो पटक सरकार बनाउँदा शिक्षा र स्वास्थ्यमा सुधार गरेका कारण प्रशंसा बटुलेको आपका लागि यो निर्वाचनले ठूलो धक्का दिएको विश्लेषण भएका छन् ।
दिल्लीमा सरकार गुमाउन लागेको आपले भारतको अर्को राज्य पञ्जाबमा पनि सरकार चलाइरहेको छ ।
भाजपाको चुनावी नारा आपका प्रमुख अरविन्द केजरीवालको आलोचनामा केन्द्रित देखिएको थियो । भ्रष्टाचारविरोधी अभियानसँगै राजनीतिमा उदाएका केजरीवाल मदिरा विक्रीसम्बन्धी एक नीति बनाउँदा भ्रष्टाचार गरेको आरोपमा जेल पुगेका थिए ।
उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् र मोदीले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाएको आरोप लगाएका छन् । भाजपाले भने प्रतिशोधको आरोपको खण्डन गर्दै आएको छ ।
मुख्यमन्त्री रहेकै समयमा थुनिएका केजरीवाल गत सेप्टेम्बरमा धरौटीमा रिहा भएका थिए । तर, सर्वोच्च अदालतले उनलाई मुख्यमन्त्री कार्यालयमा फर्कन र निर्णयहरू गर्न रोक लगाएको थियो ।
आफू जेलबाट रिहा भएको केही दिनमै केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
भारतीय जनता पार्टीले आफूले दिल्ली राज्यसभाको निर्वाचन जितेको अवस्थामा सन् २०३० सम्म दिल्लीको वायु प्रदूषण आधा घटाउने वाचा गरेको छ । तर, निर्वाचनमा दिल्लीको प्रदूषण प्रमुख मुद्दा बन्न सकेको थिएन । ३ करोड मानिसहरू बसोबास गर्ने दिल्लीमा वर्षको आधा समय मानिसहरूले चर्को वायु प्रदूषणको सामना गरिरहेका छन् ।