२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

सर्‍यो वैदेशिक रोजगार संघको निर्वाचन

hardik ivf
२०८१ माघ २८ गते ०६:२०
सर्‍यो वैदेशिक रोजगार संघको निर्वाचन

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २ फागुनका लागि तोकिएको निर्वाचनसहितको साधारणसभा सरेको छ । संघको कार्यसमितिले विभिन्न कारणहरू देखाउँदै २ फागुनका लागि तय भएको नयाँ कार्यसमितिको निर्वाचनसहितको साधारणसभा आगामी १७ असार २०८२ मा गर्ने अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएको छ ।

साधारणसभाको मिति सार्ने निर्णय गरेको संघले सार्वजनिक सूचना प्रकाशन गरी सम्पूर्ण व्यवसायीलाई जानकारी गराउने संघका महासचिव मेघनाथ भुर्तेलले मध्यान्ह दैनिकलाई बताए । उनले वैदेशिक रोजगार व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको संख्या सय समस्याको समाधान, भवन खरिद प्रक्रिया टुंगोमा पुर्‍याउने र वैदेशिक रोजगार ऐन संशोधन, सेवा शुल्क परिमार्जनलगायतका थाँती रहेका महत्त्वपूर्ण काम पनि अनुभवी कार्यसमितिले टुंगोमा लगाउन सहज हुने विषयमा व्यवसायीहरूको आग्रहपछि साधारणसभा र निर्वाचन सार्ने निर्णय कगरिएको बताए । 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले साधारणसभा सार्नुमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको भन्दै मुख्यगरी व्यवसायीको इजाजत नवीकरणका लागि बाध्यता खडा गरिएको संख्या सय समाधानलगायतका विषयमा केही समय वर्तमान कार्यसमितिले प्रभावकारी रूपमा काम गर्नुपर्ने अग्रज व्यवसायीसहित सबैतिरबाट सुझाव र आग्रह आएपछि मिति सारिएको र सरेको मितिमा कुनै पनि अवस्थामा नयाँ नेतृत्वका लागि निर्वाचन हुने आफ्नो प्रतिबद्धता रहेको बताए । 

संघको निर्णयअघि संघका पूर्वअध्यक्ष विमलप्रसाद ढकाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, संघका पूर्व प्रथम उपाध्यक्ष तथा एसोसिएसनका पूर्वअध्यक्ष कुमुद खनाल, एसोसिएसनका पूर्वकार्यबाहक अध्यक्ष तथा संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठले संघमा लिखित निवेदन दर्ता गराउँदै २ फागुनका लागि तोकिएको निर्वाचनसहितको साधारणसभाको मिति परिवर्तनको माग गरेका थिए ।

लिखित निवेदनमा उनीहरूले वैदेशिक रोजगार क्षेत्रमा विगत केही समयदेखि महत्त्वपूर्ण मुद्दाहरूले व्यवसाय नै अनिश्चित भई सदैव त्रासपूर्ण अवस्थामा व्यवसाय गर्नुपरेको र हाल विशेषगरी संख्या सयको बाध्यता हटाएर सधैंका लागि समस्या समाधान गर्न संसद्मा विचाराधीन अवस्थामा रहेको वैदेशिक रोजगार ऐनको संशोधन विधेयक पारित गराउन भूमिका खेल्नका लागि साधारणसभा तथा निर्वाचनको निर्धारित मिति सार्न अनुरोध गरेका थिए । 

संघको साधारणसभाका लागि साढे ८०० म्यानपावर कम्पनी संघमा दर्ता भएका छन् । तीमध्ये ४०० बढी मलेसिया कामदार पठाउने कम्पनी छन् । तर, मलेसियाले गत मे महिनादेखि नयाँ कामदारको एप्रुभल रोकेको छ । चालू आर्थिक वर्ष नसकिँदै संख्या सय खारेज गर्ने वैदेशिक रोजगार ऐनको प्रावधान खारेज गराउन सके ठूलो उपलब्धि हुने पूर्वअध्यक्षहरूको भनाइ छ । 

संघका पूर्वअध्यक्ष ढकालले मध्यान्हसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘केही व्यक्तिका लागि संख्या सयको समस्याभन्दा पद प्राप्त गर्ने लालसा होला तर सयौं व्यवसायीहरू संख्या सयको समस्या सधैंका लागि समाधान होस् भन्ने चाहन्छन् । समाधानको नजिक पुगेको यो विषय कुनै कारणले पनि नबिथोलियोस् र सबै व्यवसायी साथीहरूले बिनातनाव सहज तरिकाले काम गर्न पाऊन् भन्ने हाम्रो धारणा हो ।’

ADV

सम्बन्धित खबर

Advertise