काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २ फागुनका लागि तोकिएको निर्वाचनसहितको साधारणसभा स्थगित गर्ने संघ कार्यसमितिको निर्णयप्रति ४ वटा संस्थाले विरोध जनाएका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र तराई वैदेशिक रोजगार व्यवसायी समाजले छुट्टाछुट्टै विज्ञप्तिमार्फत संघ कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारीसमेत घोषणा भइसकेको अवस्थामा साधारणसभा सार्ने निर्णय गरिनु आपत्तिजनक भएको बताएका छन् ।
एसोसिएसनले विज्ञप्तिमा संघले साधारणसभा सार्न देखाएको कारण अनावश्यक र औचित्यहीन भन्दै अवैधानिक कार्यसमितिले गलत नजिर बसाउन खोजेको टिप्पणी गरेको छ ।
संघको वर्तमान कार्यसमितिको कार्यकाल गत ६ माघमै समाप्त भइसकेको भन्दै एसोसिएसनले विधानअनुसार कार्यकाल समाप्त हुनु अगावै निर्वाचनसहितको साधारणसभा सम्पन्न गर्नुपर्नेमा संघको नेतृत्वले विभिन्न बहाना बनाउँदै विधानविपरीत कार्यकाल लम्ब्याउने, साधारणसभा नगरी संस्थाको विधानले दिएको अधिकारभन्दा बाहिर रहेर पदीय दुरुपयोग गर्ने, सदस्य संस्थाहरूलाई गुमराहमा राख्ने गलत क्रियाकलाप भएको एसोसिएसनको भनाइ छ ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचनका कार्यक्रम स्थगित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघको साधारणसभाका लागि ८०० भन्दा बढी व्यवसायीले शुल्क बुझ(ाई प्रतिनिधि पठाइसकेको अवस्थामा बिनाकारण साधारणसभा र निर्वाचनका सबै कार्यक्रम स्थगन गर्नु संघको विधानविपरीत र आपत्तिको विषय भएको मञ्चले विज्ञप्तिमा जनाएको छ ।
अविलम्ब नयाँ कार्यसमितिको निर्वाचनको सुनिश्चितताका लागि मञ्चले राजनीतिक दल निकट शुभेच्छुकसहित जातीय, भेगीय संघसंस्थामा आबद्ध व्यवसायीलाई एकजुट हुन आह्वान गरेको छ ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा आबद्ध व्यवसायीहरूको ठूलो संख्याले निर्वाचन तोकिएको समयमा सम्पन्न गर्नुपर्ने माग गरिरहेको अवस्थामा संघ नेतृत्वको ढिलासुस्ती र विधानविपरीतका गतिविधिहरूले व्यवसायीहरूलाई अन्योलमा पार्दै संस्थागत सुशासनलाई समेत कमजोर पार्ने खतरा बढेको बताएको छ ।
संगठनले विज्ञप्तिमा संघ कार्यसमिति कानुनी रूपमा पूर्णतः अवैधानिक भइसकेको भन्दै साधारणसभामार्फत कार्यसमितिलाई वैधानीकीकरण गर्नुपर्नेमा विधानका व्यवस्थाहरूलाई लत्याउँदै अप्रजातान्त्रिक र तानाशाही प्रक्रिया अवलम्बन गर्दा संघले सम्पूर्ण व्यवसायीको अभिभावकको हैसियत गुमाउने खतरा देखिएको संगठनको भनाइ छ ।
त्यस्तै, तराई वैदेशिक रोजगार व्यवसायी समाजका बरिष्ठ उपाध्यक्ष अख्तर हुसेनले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया सार्ने काम अन्यायपूर्ण र विधानविपरीत स्वार्थअनुकूल भन्दै समाजको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
व्यवसायीहरूको हक, अधिकार तथा संस्थागत पारदर्शिता, सुनिश्चित गर्न निर्वाचन तोकिएको मितिमा नै हुनुपर्ने भन्दै विज्ञप्तिमा विधानविपरीत निर्वाचनलाई अन्योलमा पारिएमा त्यसको सम्पूर्ण जिम्मेवारी संघको वर्तमान नेतृत्वले लिनुपर्ने चेतावनी दिइएको छ ।