अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले दुई विधेयक पारित गरेको छ । सोमबार सन्धिखर्क नगरपालिकाको सभाहलमा बसेको नगरपालिकाको १७ औं नगरसभाको दोस्रो बैठकले दुई वटा विधेयक पास गरेको हो ।
सन्धिखर्क नगरपालिकाले आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ यसअघि विद्यान समितिका संयोजक चुराबहादुर केसीले नगरसभामा पेस गरेको र सो विधेयक १७औं नगरसभाको दोस्रो बैठकमा नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले निर्णयार्थ पेस गरेपछि दुई विधेयक सभाले सर्वसम्मत पास गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले अन्य बजेट संशोधन तथा योजनाहरु हेरफेर गर्न पनि सभामा प्रस्ताव निर्णयर्थ प्रस्तुत गरेका थिए । पुस १४ गते सम्पन्न पहिलो बैठकमा विधायन समितिका संयोजक केसीले नगरसभामा यी दुई वटा विधेयक नगरसभामा प्रस्तुत गरेका थिए । सन्धिखर्क नगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ मा सभा सदस्य सदस्यहरुले नगरपालिकाभित्र संचालन गरिने मेला, महोत्सव तथा नगरपालिकालाई दिनुपर्ने कर आय अग्रिम नगरपालिकाले लिनुपर्ने सुझाव दिएका थिए ।
उक्त विधेयक सुझावसहित सर्वसम्मत पास भएको थियो । त्यस्तै नगरसभामा प्रस्तुत भएको सन्धिखर्क नगरपालिकाको स्थानीय विभिन्न विधेयकहरुमा नगर सभासदस्यहरुले महत्त्वपूर्ण भनाइ सुझाब सभामा राखेका थिए । नगरसभामा बजारको फोहोरमैला व्यावस्थापन गर्न डम्पिङ सानो भएको बताएका थिए । उनीहरुले बजारमा निजी तथा सार्वजनिक जग्गामा फोहोर फाल्ने भएकाले यहाँको वातावरण प्रदूषित भएकोमा त्यसको ध्यानाकर्षण गराएका थिए ।
सभामा नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरपालिकाभित्र भइरहेको विकास निर्माण भावी योजना बजेटका कारण समस्यामा परेका योजनाहरुलाई अब आवश्यकता अनुसार बजेट विनियोजन गरी विकास निर्माणलाई तीब्रता दिने बताएका थिए । उनले जनताको नजिकको सरकार स्थानीय सरकारले राम्रोसँग काम गरेको महसुस सेवाग्राहीलाई गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । नगरसभामा नगरउपप्रमुख आचार्यले महिलाहरुको हक अधिकारका लागि विशेष योजना ल्याउने गरी नगरसभामा भनाइ राखेकी थिइन् ।
उनले नगरमा आइ परेका समस्या न्यायिक समितिमार्फत समाधान गर्दै आएको समेत बताइन् । उनले भनिन्,‘नगरमा भएका स–साना समस्यालाई समाधान गरी न्यायमा पहुँच पु¥याउन काम गरिहेका छौँ ।’
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नगरले पारित गरेको विधेयक, कानुन अनुसार कार्यान्वयन गराउने बताए । चालु आर्थिक बर्षमा अहिलेसम्म नगरको करिब ६० प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत भुसालले नगरसभामा जानकारी दिए ।