२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

बाँझो जग्गा लिजमा लिएर खेती गर्दै शितगंगा

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ २९ गते २१:४१
बाँझो जग्गा लिजमा लिएर खेती गर्दै शितगंगा

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले बाँझो रहेको खेतीयोग्य जग्गालाई उपयोग गरी कृषि उत्पादन वृद्धि गर्ने योजना अगाडि सारेको छ ।

भौगोलिक हिसाबले निकै विकट बस्ती रहेको शितगंगामा कतिपय जग्गा धनीले आफ्नो सबै जग्गा उपयोगमा ल्याउन नसकिरहेको र खेती गर्न चाहनेले जग्गा नपाउने समस्या देखिएकाले बाँझो जग्गा राख्ने प्रवृत्तिलाई निरुत्साहित गरी कृषि उत्पादन वृद्धि गर्ने तयारी गरिएको नगर प्रमुख छबिलाल पौडेलले जानकारी दिए ।

यो योजना कार्यान्वयनका लागि सुरुमा शितगंगा नगरपालिका वडा नम्बर ३ मा बाँझो जग्गा भाँडामा दिनका लागि वडा कार्यालयको सहजीकरणमा सुरुमा १२ रोपनी जग्गा लिजमा लिएर नगरपालिकाले खेती सुरु गर्ने तयारीमा लागेको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले बताए ।

‘नगरपालिकाका  कतिपय ठाउँमा  खेतीयोग्य ठूला फाँट बाँझो अवस्थामा देखिन्छन्’ नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले भने, ‘यस्तो जग्गा भाँडामा  दिन चाहने जग्गा धनीले नगरपालिकामा सम्पर्क गरेपछि  नगरपालिकाले उपयुक्त छानेमा जग्गा भाँडामा लिने र विभिन्न प्रकारका खेती गर्ने योजनामा नगरपालिका रहेको छ ।’

भाँडामा लिने र दिने काम भने सम्बन्धितको स्वच्छामा हुने नगरपालिकाका योजना अधिकृत खनालले दाबी गरे ।  उनले भने,‘नगरपालिकाले यो योजना कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गरिरहेको छ ।’

जग्गा भाँडामा लिन र दिन चाहनेको विवरण नगरपालिकाको कृषि शाखामा  राख्ने व्यवस्था गर्न लागिएको छ । 

यस्तो कामले भाँडामा लिन र दिन चाहने दुवैलाई फाइदा हुने, जग्गाको सम्पूर्ण विवरण एकैस्थानबाट प्राप्त गर्न सकिने र जग्गा बाँझो रहने समस्या हट्ने भइ जग्गाको सदुपयोग हुने नगरपालिकाका उपप्रमुख गिता भाटले बताइन् ।

शितगंगा नगरपालिकामा पछिल्लो वर्षमा धेरैले जग्गा बिक्रीवितरण गरी बाहिर बसाइँसराई गर्ने गरेका छन् । त्यहाँ रहेका जग्गा ठूला सहरमा बस्ने धनाड्यहरुले विभिन्न फर्मका नाममा खरिद गरी बाख्रा, गाई,  कुखुरा, बंगुर पालन, कागती, आँप, केरा खेती, माछापालन, मौरी पालनका फर्महरु देखावटी रुपमा संचालन समेत गरेका छन् । कतिपयले आफ्नो जग्गा खेती लगायतको कामको लागि भाँडामा दिने गरेका छन् । तर के कति जग्गा भाँडामा रहेको र कति जग्गा बाँझो छ भन्ने एकीन तथ्यांक कुनै नगरपालिकासँग छैन । कतिपय ठाउँमा जग्गा भाँडामा लिँदा वा दिँदा के फाइदा उठाउने भन्ने स्थानीयलाई ज्ञान छैन । जसका कारण शितगंगामा बाहिरबाट हजारौं रोपनी जग्गा किन्न आउने कम्पनी फर्म वा व्यक्तिले जग्गा सस्तो लिने गरेको बेला नगरपालिकाले अहिले ३ नम्बर वडाबाट लिजमा लिने र खेती गर्ने, त्यसपछि सबै वडामा जग्गा लिएर कृषि  खेती गर्ने अभियान सुरु गरेपछि त्यहाँको जग्गाको मूल्य आकासिने अपेक्षा गरिएको छ । 

शितगंगा नगरपालिका पहाडि जिल्ला भएपनि अधिकांश भू–भाग तराईका जिल्लासँग जोडिएको छ । जुन नगरपालिकाबाट रुपन्देही, दाङ, कपिलवस्तु, पाल्पा, प्यूठान जिल्लामा सीमा जोडिएको छ । अर्घाखाँचीका अन्य पालिकाको तुलनामा शितगंगा नगरपालिकामा  बढी जग्गा बाँझो रहने समस्या बढ्दो छ ।

नगरपालिकाले लिजमा लिइ कृषि गर्न सुरु गरेमा जग्गा बाँझो रहने समस्या हट्ने र जग्गाको सदुपयोग हुने योजना अधिकृत खनालले बताए । पछिल्ला वर्षमा कतिपयले बाहिरबाट आउनेहरुलाई  आफ्नो जग्गामा  खेती गर्न वा कृषि फर्म संचालन गर्ने प्रयोजनका लागि भाँडामा दिने गरेका छन् । तर के कति जग्गा भाँडामा रहेको र कति जग्गा बाँझो छ ? भन्ने एकीन तथ्यांक नगरपालिकासँग छैन ।  

खास गरी शितगंगामा सडक सञ्जालको पहुँच पुग्न नसकेका ग्रामीण क्षेत्रमा यस्तो समस्या बढी छ । पहाडबाट तराई क्षेत्रमा बसाइँसराई गर्नेहरु बढ्दै जाँदा पहाडका कतिपय पूराना बस्तीमा बाँझो जग्गा बढ्दै गएको अर्घाखाँचीमा बढी देखिन्छ  । अर्घाखाँचीमा धेरै जग्गा हुनेले आफ्नो जग्गा खेतीका लागि अर्को व्यक्तिलाई अधिँया  दिने प्रचलन छ । खेती गर्दा लगानी बढी चाहिने र श्रमिकको अभाव हुने जस्ता समस्या देखिने गरेकोले कतिपय ठाउँमा जग्गा बाँझो हुने समस्या रहेको शितगंगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष चिन्तराज अधिकारीले बताए । 

ADV

सम्बन्धित खबर

Advertise