२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक सुरु

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ ३० गते १३:२५
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक सुरु

पाल्पा : लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेश समन्वय बैठक पाल्पाको रानीमहलमा सुरु भएको छ । बैठकमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पाल्पा आइपुगेका छन् । लुम्बिनी  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई पाल्पामा स्वागत गरे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री  आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको सहभागितामा पाल्पाको रानीमहलमा अन्तरप्रदेश समन्वय बैठक सुरु भएको हो  । बैठकमा मुख्यमन्त्रीसहित मन्त्रीहरु, प्रमुख सचिव, सचिवलगायतको उपस्थिति छ । दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारलाई समेट्दै दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । दुवै प्रदेशका वार्षिक नीति तथा कार्यक्रम र आगामी बजेट निर्माणमा समावेश गर्नेगरी साझा प्रतिबद्धता तयार पारिएको छ । सो अवसरमा प्रदेशस्तरीय नीति निर्माण, कर प्रणाली, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण तथा सुशासन प्रवर्द्धनका विषयमा विस्तृत छलफल हुनेछ ।

उक्त अवसरमा दुवै प्रदेशबाट तर्जुमा भइसकेका तथा प्रस्तावित कानूनहरूबीच समन्वय, सहकार्य र एकरुपता कायम गर्ने, प्रदेशस्तरीय कर प्रणालीमा एकरुपता कायम गर्दै प्राकृतिक स्रोत तथा साधनबाट संकलन हुने रोयल्टी बाँडफाँटमा सहमति जुटाउने, दुई प्रदेशलाई जोड्ने प्रमुख सडक पूर्वाधार तथा पुल निर्माणका लागि आवश्यकताअनुसार नेपाल सरकारसँग समन्वय गर्दै साझेदारी तथा सहकार्य गर्ने, दुवै प्रदेशको दीर्घकालीन हित हुने सम्भावित ठूला परियोजनाहरू पहिचान गरी सहलगानीका आधारमा सञ्चालन गर्नेलगायतका विषयमा सहमति कायम गरिने छ ।

त्यस्तै प्राकृतिक प्रकोप न्यूनीकरण तथा विपद् व्यवस्थापनमा साझेदारी, सहकार्य, र समन्वयात्मक ढंगबाट कार्य गर्ने, लागुऔषध ओसारपसारको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि सुरक्षा निकायहरूसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्ने, दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर निजी क्षेत्रको सहकार्यमा आकर्षक संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, सीमा क्षेत्रका नदी तथा जलस्रोतहरूको व्यवस्थापन गर्दै जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार तथा सिँचाइ संरचनाको निर्माणमा सहकार्य गर्ने, दुवै प्रदेशको विकास, सुशासन, र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उपयोगलाई प्राथमिकता दिने विषयमा पनि सहमति कायम गरिने छ ।

ADV

सम्बन्धित खबर

Advertise