खविन लुइटेल/मध्यान्ह
पाँचथर : पहाडमा धान उत्पादन हुन कठिन छ भन्ने मान्यता छ । तर पाँचथरको फाल्गुनन्द गाउँपालिकाका कृषकले वर्षेनी लोभलाग्दो धान फलाउँदै आएका छन् ।
हरेक वर्ष ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाई ३० हजार र १ सय मुरी भन्दा धेरै धान फलाउने कृषकलाई ५० हजार नगद पुरस्कार स्थानीय सरकारले दिन थालेपछि यहाँका कृषकको धान उत्पादनको लेखाजोखा हुन थालेको हो ।
गत आर्थिक वर्षदेखि यहाँका कृषकले उत्पादन गरेको धानको परिमाणको आधारमा गाउँपालिकाले नीति नै बनाएर नगद पुरस्कार दिन थालेको हो ।
गएको पर्ष २९ जना कृषकले ५० मुरी भन्दा धेरै धान फलाएर पुरस्कार दाबी गरेकोमा यो वर्ष ४२ जना कृषकले दावी गरेर पुरस्कार लिए । जसमध्ये ३ जनाले १ सय मुरी भन्दा धेरै धान फलाएका हुन् भने बाँकी ३९ जनाले ५० मुरी भन्दा धेरै धान फलाएका छन् । गाउँपालिकाले यो वर्ष मात्रै १३ लाख २० हजार रुपैयाँ किसानलाई नगदै हस्तान्तरण गरेको हो ।
गएको वर्ष १ सय ६८ मुरी धान फलाएर मुलुकभरी चर्चा बटुलेका फाल्गुनन्द १ का मकरबहादुर तामाङको दम्पत्तीले यो वर्ष १ सय ७४ मुरी धान फलाउँदै सबैभन्दा धेरै धान फलाउने किसानको रुपमा पुरस्कार प्राप्त गरे । मकरबहादुरसहित फाल्गुनन्द ७ का दिप्सन चेम्जोङ र रत्नबहादुर चेम्जोङले यो वर्ष १ सय मुरी भन्दा धेरै धान फलाए ।
दिप्सनले १ सय १५ मुरी धान फलाउँदा रत्नबहादुरले १ सय ८ मुरी धान फलाए । उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।
आफ्नो जग्गा २ रोपनी मात्रै भएको मकरबहादुर तामाङ दम्पत्तीले अरुकै खेत अधिँया र बन्दगीमा कमाएर १ सय ७४ मुरी धान उत्पादन गर्न सफल भएको हो ।
तामाङ दम्पत्ती मात्र हैन गाउँपालिकामा धेरै धान फलाउने सबै कृषकले आफ्नो मात्र जमिनमा उत्पादन गरेका हैनन् । साहुहरुको जग्गा भाडामा लिएर तथा पालिकाभित्रको खेतियोग्य तर बाँझो अवस्थामा रहेको जमिनलाइ खनजोत गरेर धान उत्पादन गरिरहेका छन् । गएको वर्ष २९ जना किसानले पुरस्कार लिएपछि यो वर्ष अरु किसानमा समेत हौसला मिलेको गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ बताउँछन् ।
फाल्गुनन्द गाउँपालिकाले हरेक वर्ष मंसिरमा आफ्नो धान उत्पादनको दावी गर्न किसानहरुको लागि सार्वजनिक सूचना जारी गर्छ । कृषकहरुले आफ्नो वडा सदस्य तथा वडा कार्यालयमार्फत पालिकासम्म आफ्नो धान उत्पादन ५० या १ सय मुरी नाघेको दाबी पठाउँछन् ।
त्यस पश्चात पाथी लिएर गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारिको टोली किसानको खलोमा धान भर्न पुग्छन् । यसरी किसानको धान भर्दा ५० मुरी वा १ सय मुरी नाघेको निक्र्यौल गरी पुरस्कारको टुंगो लगाइन्छ ।
माघ २९ गते गाउँपालिकाका सातै वडाबाट आएका ४२ कृषकलाई नौमती बाजा, तथा च्याब्रुङ बाजा बजाउँदै फुलमाला र अविर लगाएर बजार परिक्रमा गराइयो । कार्यक्रममा कोशी प्रदेशका कृषिमन्त्री खगन सिं हाङ्गामले कृषकलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरे । गाउँपालिकाले कृषकको खलोसम्म ट्याक्टर पुर्याउने नीति लिएको छ । पछिल्लो समय यूवाको अभावमा धान तथा पराल बोक्न जनशक्तिको समस्या परेको गुनासो किसानहरुले गर्छन् ।
किसानको उक्त समस्यालाई मध्यनजर गर्दै किसानको खलोसम्मनै ट्याक्टर पुर्याउने गरी सडक संरचनाको काम गरिने गाउँपालिका अध्यक्ष आङदेम्बेले प्रतिबद्धता जनाए ।
धानमा मात्रै नभइ तोरी र मकै उत्पादनमा समेत उत्पादनमा आधारित अनुदान दिने नीति अवलम्बन गरिने अध्यक्ष आङदेम्बेको भनाइ छ ।
लोकप्रिय बन्दै अनुदान नीति
साधारणतय कृषकलाई औजार तथा अन्य सामग्री अनुदानमा दिइन्छ । त्यसको प्रयोगको अवस्था हुने फितलो अनुगमन र खरिद प्रक्रियामा हुने अपारदर्शी निर्णयले पछिल्लो समय यस प्रकारका अनुदानहरु विवाद रहित हुन सकिरहेको छैन् ।
तर फाल्गुनन्द गाउँपालिकाले अवलम्बन गरेको उत्पादन परिणाममा दिने अनुदानले कृषक उत्साहित भएको पाइन्छ । धेरै धान फलाएपछि नगदै पैसा थाप्न पाउँदा थप काम गर्ने जाँगर चलेको फाल्गुनन्द १ का कृषक मकरबहादुर तामाङ बताउँछन् । उनीमात्रै होइन फाल्गुनन्द २ का मनप्रसाद नेम्वाङ समेत नगदै प्राप्त गर्दा सहज हुने बताउँछन् । पुरस्कार बापत पाएको पैसाले भैँसी किन्ने योजना मन प्रसादको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपालले समेत उत्पादनको आधारमा दिइने अनुदाननै सबैभन्दा प्रभावकारी हुने टिप्पणी गरे ।
यसले किसानहरुमा काम हौसला मिल्ने र प्रतिस्पर्धात्मक वातावरणमा उत्पादन गर्ने उनको बुझाइ छ ।
गएको वर्ष २९ जना किसानले मात्रै ५० मुरी भन्दा धेरै धान फलाएका थिए । जसमा २ जनाले मात्रै १ सय मुरी नघाएका थिए । यो वर्ष ३९ जनाले ५० भन्दा धेरै र ३ जनाले १ सय मुरी भन्दा धेरै धान फलाएका छन् ।