रौतहट : रौतहटको गरुडा नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राहीसँग पाँच हजारका दरले रकम असुल गरिएको आरोप लागेको छ ।
गरिब विपन्नको नाममा आएको रकममा एजेन्ट लगाएर पैसा उठाइएको उनीहरुले आरोप लगाएका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रममार्फत नागरिकको पराल, खरको छाना भएका घर विस्थापित गर्न ७५ हजार रूपैयाँ पाउने व्यवस्था रहेको छ । त्यही व्यवस्था अनुसार नै गरिब, विपन्नको नाममा गरुडामा गत आर्थिक वर्षमै आएको रकममा कमिसन स्वरुप पाँच÷पाँच हजारको दरले प्रतिपरिवार रकम असुुल गरिएको पीडितहरुको आरोप छ ।
वडा सचिवले आफूहरुसँग पाँच हजारका दरले पैसा लिएको गरुडा नगरपालिका वडा नम्बर ४ का रवि साहले बताए । बैंकको खाता खोल्नुपर्ने भन्दै पैसा उठाएको उनले बताए ।
पैसा लिएको १० महिना बित्दा पनि आफूहरूले पाउनुुपर्ने रकम पाउन नसकेको उनको भनाइ छ ।
त्यस्तै अर्का स्थानीय दिपेन्द्र साहले भने, ‘नागरिकको लागि आएको रकममा कुनै किसिमको पैसा नउठाउनु पर्ने हो तर हामीहरुसँग पैसा लिइएको छ ।’ लाभग्राहीले पाउनुुपर्ने सुविधा नगरपालिकाले छिटो भन्दा छिटो उपलब्ध गराइदिन उनीहरुले माग गरेका छन् । यसरी गरिबसँग पैसा उठाउनेलाई कारबाही गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।
सोही वडाका सियाराम साहले फर्मको नाममा आफूहरुसँग वडा सचिवले पाँच हजार लिएको बताए । पाँच हजार रुपैयाँ उठाइएको एउटा अडियो संवाद पनि बाहिर आएको छ । गरुडा नगरपालिका वडा नम्बर ५ का स्थानीय शैलेन्द्र यादवसँग भएको उक्त संवादमा श्रीसाह नाम गरेका व्यक्ति पैसा उठाएको स्वीकार पनि गरेका छन् ।
यता वडा नम्बर ४ का वडा सचिवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यसै विषयमा गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमसँग बुझ्दा गत आर्थिक वर्ष २०८०/८१ मा नै सुरक्षित नागरिक आवासको लागि रकम आएको बताए । पहिलो किस्ताको रकम ४५ हजार भने सम्बन्धित व्यक्तिको खातामा गइसकेको जानकारी गराए ।
दोस्रो किस्ताको रकम चालु आर्थिक वर्षमा पैसा आएपछि पठाइने उनको भनाइ छ । पैसा कसले उठायो भने बारे आफूलाई केही जानकारी नभएको उनले बताए ।
गरुडा नगरपालिकामा कति संख्यामा सुरक्षित नागरिक आवास रकम आएको हो यसबारे आफूले बुुझेर बताउने उनले बताए । नगरपालिकाले पहिलो किस्ताको रकम खातामा गइसकेको भनिरहेका छ भने लाभग्राहीहरुले पैसा नपाएको बताएका छन् ।
गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादवले गरिबसँग ठगिएको रकम फिर्ता गर्नुपर्ने र लाभग्राहीले पाउनुपर्ने सुविधा अविलम्ब उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गरेका छन् । साथै लाभग्राहीहरुको लिष्ट सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।