दोहा, कतार : कोशी प्रदेश समन्वय परिषद्, कतारले आयोजना गरेको विन्टर आउटडोर फेस्टिभलमा सांगीतिक प्रस्तुति दिन नेपालबाट चर्चित गायिका श्रेयसी चेम्जोङ लिम्बु कतार आइपुगेकी छन् । बृहत् सांस्कृतिक तथा साहित्यिका साथ सहानियास्थित अल दोसरी पार्कमा आउँदो शुक्रबार बिहान १० बजेबाट सुरु हुने उक्त कार्यक्रममा प्रस्तुति दिन श्रेयसी कतार आइपुगेकी हुन् ।
उनको स्वागत तथा सम्मानका लागि कतारको हमाद विमानस्थलमा परिषद्का अध्यक्ष पदम कुमार घिमिरे, कार्यक्रम संयोजक रुद्र शर्मा र महासचिव पदम प्रसाद सिम्खडा लगायतका व्यक्तिहरू पुगेका थिए । विमानस्थलबाट गायिका श्रेयशीले कतारमा रहेका सबै नेपालीलाई नचाउन आफू आइपुगेको बताउँदै सबैसँग शुक्रबार भेट हुने अपेक्षासहित कार्यक्रममा निमन्त्रणा गरेकी छन् । गायिका श्रेयसीसँगै कतारमा स्थापित दुई दर्जन भन्दा धेरै कलाकारहरू सहित साहित्यकारहरूको सांगीतिक एवं साहित्यिक प्रस्तुति रहने परिषद्का महासचिव पदम प्रसाद सिम्खडाले जानकारी दिए ।
आधुनिक विधामा स्थापित भए पनि भर्षटायल गायिकाको परिचय स्थापित गरेकी श्रेयशीले नेपालीका अलावा हिन्दि गीत र संस्कृतमा भजन समेत उत्तिकै मिठो गाउँछिन् । एक दशक पहिले सार्वजनिक भएको मलाइ तिम्रो सम्झनाले हाँसी हाँसी बाच्न पनि दिएन भन्ने उनको आवाजको गीत आज पर्यन्त पनि उत्तिकै रुचाइने गीतमध्ये एक हो । नेपालबाट अतिथि कलाकारको आगमनसँगै तयारी पुरा भएको कार्यक्रम संयोजक शर्माले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन दर्शकहरूको सहजताको लागि दोहाको मुन्ताजा पार्क, सनैयाको लालीगुराँस रेस्टुरेन्टको अगाडि, अलतिया, होम साइड, अलखोर लुलुको अगाडि बाट यातायातको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यातायात सम्बन्धी थप जानकारीका लागि यातायात संयोजक लीला नाथ घिमिरे मोबाइल नम्बर ५५९७ ६८६८ मा सम्पर्क गर्न सकिन्छ ।