काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कानुनी प्रकृया पुरा गर्दै प्रशासनिक भवन खरिद गरेको छ । वैदेशिक रोजगार व्यवसाय संस्थागत भएको ३२ वर्षपछि मात्र संघको आफ्नै प्रशासनिक भवन भएको हो । संघले राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे ३ तले भवन खरिद गरेको हो । हाल उक्त भवनमा संघको कार्यालय संचालन भइरहेको छ ।
संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले संघको भवन सम्पूर्ण व्यवसायीहरूको साथका कारण किन्न सफल भएको मध्यान्ह दैनिकलाई जानकारी दिए । भवन खरिदका लागि हालसम्म ४ करोड १० लाख संकलन भएको र भवन राजीनामा गरी लिन ४ करोड ५३ लाख १४ हजार रहेको बताउँदै खत्रीले ४३ लाख १४ हजार सापटी लिएको बताए ।
उक्त भवनका लागि मध्यान्ह राष्ट्रिय दैनिकले पनि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो । खत्रीले भवन खरिदका लागि सबै व्यवसायीको उल्लेख योगदान रहेकोे र त्यसमा पनि संघका सल्लाहकार रघु पुरी र अध्यक्ष राजेन्द्र भण्डारीको लगाव र मिहिनेत अविष्मरणीय रहेकोे बताए ।
संघले भवन खरिदका लागि सहयोग गर्ने सम्पूर्ण व्यवसायीसहित सल्लाहकार, भवन खरिद समितिका अग्रज व्यवसायी, संघ कार्यसमिति सदस्य, संघका पूर्वअध्यक्षहरू र प्रगतिशील वैदेशिक व्यवसायी मञ्च नेपाललगायत विभिन्न संघ संस्थाहरूमा आभार व्यक्त गरेको छ ।
प्रथम उपाध्यक्ष खत्रीले अगाडिको घरसमेत खरिद गर्ने प्रक्रिया रहेकाले उक घर किन्न सम्पूर्ण व्यवसायीलाई सहभागी हुन अनुरोध गरे ।
संघले भवन खरिदका लागि योगदान गर्ने सम्पूर्ण सहयोगी दाताहरूको नामावली प्रकाशन गर्ने बताएको छ । संघले संघको आफ्नै प्रशासनिक भवनको परिकल्पना गरेको धेरै अगाडिदेखि हो । संघले करिब डेढ दशक अगाडि पूर्वअध्यक्ष दानबहादुर तामाङको कार्यकालमा सिनामंगल काठमाडौंमा खरिद गरेको करिब साढे ७ आना जग्गा भने हाल प्रयोगविहीन अवस्थामा छ ।