अर्घाखाँची : निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष तथा वरिष्ठ निर्माण व्यवसायी बसन्त भुसालले काम सम्पन्न भएका सयौं योजनाहरुको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले भुक्तानी नदिएको बताएका छन् ।
बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष भुसालले काम सम्पन्न भएका योजनाको भुक्तानी नदिँदा निर्माण व्यवसायीहरु आर्थिक संकटमा परेको बताए ।
भुसालले अघिल्लो वर्ष सम्झौता गरेका सबै योजनाहरु यस वर्ष सम्पन्न भएपनि व्यवसायीले गरेका कामको भुक्तानी नपाउनु दुखद भएको बताए । सरकारले काम सम्पन्न योजनाको भुक्तानी नदिए निर्माण व्यवसायीले अब काम बीचमा नै छोड्न बाध्य हुने उनले बताए ।
सरकारले भुक्तानी दिने कुरा अपनत्व लिदिन भन्न नमिल्ने बताउँदै उनले निर्माण व्यवसायीको समस्याप्रति सरकार गम्भीर हुन नसकेको आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्न आयोग गठन गर्न निर्देशन दिएपनि काम हुन नसक्दा समस्या जिल्ला जिल्लामा उत्पन्न भएको उनले बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अर्थमन्त्री भएको बेला काम सम्पन्न गरेका निर्माण व्यवसायीहरूलाई प्रदेश सरकारले तत्काल भुक्तानी दिने गरी बजेट व्यवस्थापन नगरेकोप्रति इंकित गर्दै भुसालले वर्तमान सरकार पनि विगतको सरकारको निरन्तरता रहेको बताए ।
उनले भने, ‘निर्माण व्यवसायीहरूलाई भुक्तानी दिन नसक्ने कुरा गलत हो । सरकारले अहिले म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी दिने कुरा गरेको छ, तर भाषणमा मात्रै मन्त्रीहरुका कुरा सिमित भएका छन् । सरकारले चाहेमा भुक्तानी तत्काल हुन सक्छ ।’
विगतका वर्षहरूमा विगतका सरकारहरूले गरेका कमीकमजोरीलाई यो सरकारले त्यसको अपनत्व गर्दिन भन्न नमिल्ने भुसालले बताए ।