काठमाडौं : नेपालको विकास बजेटको कार्यान्यवनको अवस्था निकै निराशाजक खर्च भएको छ । चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत पुँजीगत खर्च २० प्रतिशत समेत हुन सकेको छैन । बजेट खर्चको अवस्था हेर्दा विगतका वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि असारे खर्च अधिक हुनसक्ने देखिएको छ ।
चालु वर्षको बजेटमा सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, अर्धवार्षिक मूल्यांकन पश्चात सरकारले पुँजीगत खर्चतर्फको बजेटलाई २ खर्ब ९९ अर्ब सीमित गरेको छ । जसमध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकाले ६८ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ मात्र पुँजीगत खर्च गरेको छ । यो सुरु विनियोजित पुँजीगत खर्च लक्ष्यको १९.४२ प्रतिशत मात्र हो ।
यस्तै चालु आर्थिक वर्षको ७ महिनामा सरकारको आम्दानी भन्दा खर्च धेरै भएको छ । अर्थतन्त्रमा देखिएको चापको कारण सरकारको राजस्व संकलनमा समेत दबाब देखिएको हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकारले ६ खर्ब ५९ अर्ब ७३ करोड रुपैयाँ ५६ लाख आन्दानी गरेको छ । जुन सकारको सुरु लक्ष्यको ४४.८३ प्रतिशत हो ।
तर, चालु आर्थिक वर्षको ७ महिनामा सरकारको कुल खर्च भने ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ भएको छ । यो सुरु कुल खर्च लक्ष्यको ४०.५८ प्रतिशत हो । सरकारले आम्दानी भन्दा ९५ अर्ब ११ करोड ७८ लाख रुपैयाँ धेरै खर्च गरेको छ । चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ६५ अर्ब ६४ करोड राजस्व संकलन गरेको छ जसमा ८ अर्ब ८२ करोड वैदेशिक अनुदान मार्फत् प्राप्ति गरेको छ ।
यस्तै सो अवधिमा सरकारले गैर करबाट ७७ अर्ब २१ करोड रुपैयाँ राजस्व आम्दानी गरेको छ भने अन्य शीर्षकमा ८ अर्ब ५ करोड प्राप्त गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा कुल १८ खर्ब ६० अर्ब बजेट बिनियोजन गरेको थियो भने अर्थमन्त्री बिष्णु पौडेलले अर्धवार्षिक समिक्षामार्फत् १६ खर्ब ९२ अर्ब बनाएका छन् ।