सुर्खेत : १६औं सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । सिम्ता गाउँपालिकाद्वारा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिकाहरुले सहभागिता जनाएका छन् ।
उद्घाटन सत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेलको आतिथ्यता रहेको थियो ।
सो अवसरमा खेलको माध्यमबाट सुर्खेतमा असल नागरिक निर्माण गर्ने भूमिकासहित सफल नागरिक बनाउनका निम्ति महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री कँडेलले धारणा राखे ।
यस्तै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि अनवरत पहल भइरहेको बताए । उनले खेलाडीको जीवन रक्षाका निमित्त आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी कर्णालीका सबै खेलाडीहरूको बीमा प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाए ।
साथै, दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट आजै निर्णय हुँदै गरेको बारे जानकारी गराउँदै पूर्व प्रस्तावित मितिमै दशौं राष्ट्रिय खेलकुद आयोजना हुनेमा विश्वास व्यक्त गरे ।