
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले लगातार चौथो हार व्यहोरेको छ । शुक्रबार चितवन राइनोजसँग ३० रनको पराजय भोगेसँगै पोखराको प्लेअफ यात्रा पनि कठिन बनेको छ । जितविहीन पोखराले अब खेल्न बाँकी तीन खेल नै जितेपनि प्लेअफ पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने भएको छ ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा अलआउट हुँदै १२१ रन मात्र बनाउन सक्यो । पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । ४४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे ।
युवराज साम्राले १४ बलमा ४ चौकाको सहयोगमा १९ रन बनाए । किरण ठगुन्नाले १३ रन बनाउँदा अर्जुन घर्तीले १२ रन बनाए । यसबाहेक पोखराका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चितवनका लागि रिजन ढकाल एक्लैले ४ विकेट लिए । कमलसिंह ऐरीले ३ विकेट लिँदा डान मुस्ली, कुशल मल्ल र मौसम ढकालले समान १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । रवि बोपाराले ३५, अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रनको योगदान दिए ।
बलिङतर्फ पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २–२ विकेट लिए ।