२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

मिलरले ९३ रन बनाएपनि हार्‍यो कर्णाली, सुदूरपश्चिम ३९ रनले विजयी

Nada
२०८३ कार्तिक २० गते १६:३२
Shares
मिलरले ९३ रन बनाएपनि हार्‍यो कर्णाली, सुदूरपश्चिम ३९ रनले विजयी

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ । शुक्रबार कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा तेस्रो जित हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो । कर्णालीका लागि डेभिड मिलरले अर्धशतकीय इनिङ खेले । मिलरले ५५ बलमा ५ चौका र ७ छक्काको सहयोगमा अविजित ९३ रन बनाए ।

दीपक डुम्रेले १२ बल खेल्दै ३ चौका १ छक्का मदतमा १८ रन बनाए । यसबाहेक कर्णालीका बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले २ तथा दीपेन्द्र सिंह ऐरी, अनिल खरेल, हेमन्त धामी अभिनाष बोहरा र थारिन्दु रत्नायकेले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा २७ रन जोडे ।

ब्रान्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । इशान पाण्डेले १३ बलमा ३ छक्काको सहयोगमा २३ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए भने आरिफ शेखले ११ रन बनाए ।

थरिन्द्र रत्नायकेले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बलमा २ चौकाको सहयोगमा अविजित १३ रन बनाए ।

बलिङतर्फ कर्णालीका मार्क वाटले २ तथा नन्दन यादव, सुर्य तामाङ र हुसैन तलातले १-१ विकेट लिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर