
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा २७ रन जोडे ।
ब्रान्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । इशान पाण्डेले १३ बलमा ३ छक्काको सहयोगमा २३ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए भने आरिफ शेखले ११ रन बनाए ।
थरिन्द्र रत्नायकेले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बलमा २ चौकाको सहयोगमा अविजित १३ रन बनाए ।
बलिङतर्फ कर्णालीका मार्क वाटले २ तथा नन्दन यादव, सुर्य तामाङ र हुसैन तलातले १-१ विकेट लिए ।