अर्घाखाँची : आफ्नै सक्रियतामा आयआर्जन गर्ने लक्ष्यसहित छत्रदेव गाउँपालिकाले तरकारी खेती सुरु गरेको छ । वडा नम्बर ४ को सेरिखोलामा आलु खेती गर्न शुरू गरिएको हो । पहिलो पटक २० रोपनी पर्शुरामेश्वर गुठीको जग्गा भाडामा लिएर पाँच वर्षका लागि तरकारी खेती गर्न लागिएको हो ।
जग्गा भाडामा लिएर आलु, लसुन तथा प्याज खेती, काउली, मुला, सागलगायतका तरकारीको खेती गरिने गाउँपालिकाले जनाएको छ । जग्गालाई व्यवस्थापन गर्न बिजुली बत्ती जडान, सीसीटिभीबाट खेतको निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।
पालिकाले यसवर्ष २० रोपनीमा आलु खेती गरेपनि आउने वर्षबाट १ रोपनीमा मुला, एक रोपनीमा काउली तथा बन्दा, दुई रोपनीमा लसुन, चार रोपनीमा प्याज र एक रोपनीमा साग लगाउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए ।
पालिकाले कृषि कार्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पूर्णकालीन, अल्पकालीन रोजगारी दिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले लिजमा लिइएको जग्गामा खेतीको सम्भावना तथा माटोको उर्वराशक्ति परीक्षण गरेर सोही अनुसारको तरकारी लगाएको दाबी गरे । पालिकाले लगाएको र स्थानीयले लगाएको आलुसहित यस वर्ष पालिकाभर १ लाख किलो आलु उत्पादन हुने अनुमान गरिएको छ ।
उत्पादन गर्ने आलुलाई बिउका लागि प्रयोग गर्ने योजनासमेत पालिकाले लिएको छ । यो उत्पादन भएसँगै अकबरे खुर्सानीलगायतका सिजन अनुसारका तरकारी लगाउने पालिका उपाध्यक्ष मनि पन्थीले बताइन् ।