काठमाडौं : प्रमुख राजनीतिक दल र नेताहरूले वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली युवायुवतीको पक्षमा ठोस काम नगरे पनि वैदेशिक रोजगारका क्षेत्रमा लामो समयदेखि जकडिएर रहेका समस्या एकअर्कालाई तेजोबध गर्ने गतिलो अस्त्र बनाउन थालेका छन् ।
कुनै समय प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको सभापति रहेका आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारमा रहेका नेपाली युवायुवतीका पीडा र बेदनाको विषयलाई सवाल–जबाफ गर्ने अस्त्र बनाए ।
सांसद साहले आइतबार हुण्डी, वैदेशिक रोजगार व्यवस्थापन र रेमिट्यान्स आप्रवाह सम्बन्धमा प्रधानमन्त्री ओलीलाई ८ वटा प्रश्न तेर्साए । तर, प्रधानमन्त्री ओलीलाई सांसद साहका ती प्रश्न चित्त बुझेन । उनले चित्त कुँड्याए । रोष्ट्रमबाट सांसद साहप्रति आक्रोश व्यक्त गरे । केही प्रश्नको जबाफमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे ।
सांसद साहले श्रम सम्झौता नगरी खाडी मुलुकमा नेपाली नागरिक पठाउँदा के फाइदा छ ? भनेर प्रश्न राखे । जबाफमा प्रधानमन्त्री ओलीले भने, ‘बिना श्रम सम्झौता वैदेशिक रोजगारमा कामदार पठाएर कति नाफा भयो रे ! के म म्यानपावर व्यवसायी हुँ ?’
सांसद साहले हुण्डी कारोबारलाई सरकारले जानाजान नरोकेको आरोप लगाएका थिए । उनको प्रश्न थियो, ‘नेपाली युवायुवतीको कमाइ वैदेशिक रोजगारमा वार्षिक ४० खर्ब हाराहारीमा छ तर औपचारिक च्यानलबाट १५–१६ खर्ब मात्र आइरहेको छ । कसको लाभका लागि यो मिलेमतो भएको छ ?’
प्रधानमन्त्री ओलीले यस प्रश्नको जबाफ दिएनन् । उनले भने, ‘उहाँका प्रश्नहरू मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनक पनि रहेका छन् । संसद् जस्तो गरिमामय ठाउँमा यस्तो भाषा ?’
प्रधानमन्त्री ओलीले प्रश्नकर्ता सांसद साहलाई थप प्रतिप्रश्न गरे, ‘म सरकारमा आएपछिको ८ महिनामा मात्र तपाईंले भनेका ७० लाख मानिस वैदेशिक रोजगारीमा गएका हुन् ? त्यसअघि गएका थिएनन् ?’
रौतहट– ३ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि २८ असोज २०७९ मा नेकपा एमालेले साहलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसयता सांसद साहले निरन्तर रूपमा एमाले अध्यक्ष रहेका प्रधानमन्त्री ओलीविरुद्ध कटाक्ष गर्दै आएका छन् ।