२०८१ फागुन ८ गते बिहिवार / Feb 20 , 2025 , Thursday
२०८१ फागुन ८ गते बिहिवार
Ads

ब्लक उद्योगले तरक्की गर्दै पार्वता

hardik ivf
कुलेन्द्र शाही
२०८१ फागुन ५ गते २०:३७
ब्लक उद्योगले तरक्की गर्दै पार्वता

सुर्खेत : जाजरकोटको शिवालय गाउँपालिका– ७ ढिकालेकी २८ वर्षीया पार्वता कठायतले गाउँमै इँटा तथा ब्लक उद्योग चलाएर तरक्की गरिरहेकी छन् । हिजोआज सिमेन्टको प्रयोग गरी बनाइने आधुनिक एवं भूकम्पप्रतिरोधी इँटा बनाउनमा उनी निकै व्यस्त देखिन्छिन् उनी ।

कठायतले आफ्नै गाउँमा सिमेन्टको प्रयोगबाट आधुनिक र भूकम्पप्रतिरोधी इँटा निर्माणमा ध्यान केन्द्रित गरेकी छन् ।

बिहानै उठ्नेबित्तिकै उनी इँटा बनाउने काममा तल्लीन हुन्छिन् । उनले गाउँमै इँटा बनाउन थालेको भर्खरै हो तर छोटो समयमा पनि उनले ३ हजार बढी इँटा बनाइसकेकी छन् । 

‘हिजोआज इँटा बनाउने काममा निकै व्यस्त छु । यस उद्योगको सुरुवात मैले गाउँपालिकाबाट प्राप्त अनुदान र विभिन्न संस्थाहरूबाट प्राप्त तालिमको माध्यमबाट गरेकी हुँ’, उनले भनिन्, ‘अहिले प्रत्येक दिन १०० भन्दा बढी इँटा बनाइरहेकी छु ।’ 

गाउँपालिकाबाट मेसिन अनुदान र संस्थाको तालिमबाट इँटा बनाउने काम सुरु गरेकी कठायत आजभोलि इँटा तथा ब्लक बनाउनै व्यस्त देखिन्छिन् । गत कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएर भूकम्पले अधिकांश घरहरू भत्किएका छन् । साथै, यतिबेला जाजरकोटमा अस्थायी आवास निर्माणको काम चलिरहेको छ ।

उक्त निर्माण कार्यमा प्रयोग हुने इँटा बनाउन आफूले तालिम सिकेर लागेको उनले बताइन् । ‘अहिले नै केही विक्री भएको छैन । घरहरू निर्माण भएपछि माग हुन्छ होला’, उनले भनिन्, ‘त्यही भएर म अहिलेदेखि नै बनाउनमा व्यस्त छु ।’

उनले थपिन्, ‘घरको काममा पनि व्यस्त हुनुपर्छ नत्र दैनिक १०० भन्दा बढी इँटा बनाउँथें । यी ब्लकहरू विक्री भएमा कमाइ राम्रै हुन्छ जस्तो लागेको छ ।’

उनीसँगै उनका श्रीमान्ले समेत ब्लक बनाउने काममा सहयोग गर्ने गर्छन् । एउटा ब्लकलाई ५५ रुपैयाँमा बेच्ने गरेको कठायतले बताइन् । उनले भनिन्, ‘भर्खरै हो इँटा बनाउन लागेको । अहिलेसम्म इँटा विक्री त गरेको छैन तर प्रतिइँटा ५५ रुपैयाँका दरले विक्री गर्ने तयारी गरेकी छु ।’

उनले महिलाले केके गरिसकेका तर आफूले भर्खरै ब्लक बनाउन मात्र सिकेको सुनाइन् । अब गाउँमै ब्लक निर्माण भएपछि अस्थायी टहरा बनाउने मान्छेलाई सजिलो हुने उनको भनाइ छ ।

‘हातमा सीप भए गाउँमै मिहिनेत गरेर आम्दानी गर्न सकिन्छ जस्तो लागेको छ’, उनले भनिन् । शिवालयमा पहिलो पटक यस ब्लक उद्योगबाट उत्पादित इँटा घर निर्माणमा प्रयोग हुने भएको छ । घर नजिकै खोलामा पाइने बालुवा, माटो र सिमेन्ट प्रयोग गरेर उनले ब्लक निर्माण गर्ने गरेकी छन् ।

पार्वताको इँटा उद्योगबाट उत्पादित इँटाहरू सिमेन्ट र बालुवा– माटोको मिश्रणबाट तयार हुन्छन् । यस प्रकारका इँटाले घर निर्माणको लागत घटाउने र त्यसैका कारण यसको माग बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘सिमेन्टबाट बनेका इँटाले घरको निर्माणमा लागत कम गर्ने छन् । यी इँटा जलवायुमैत्री पनि छन् । यी इँटामा प्लास्टर गर्नु नपर्ने र पोलिएका इँटाभन्दा बलियो हुने भएकाले यसको माग बढ्न सक्छ । माग बढ्यो भने इँटा अरू काम छाडेर इँटा बनाउने काममै लाग्नुपर्ला ।’

पानी नहालेमा इँटा फुट्ने र बलियो नहुने हुँदा इँटामा १९ दिनसम्म दिनमा ३ पटक पानी हाल्नुपर्ने उनले बताइन् । कठायतले उक्त इँटा बनाएको १ महिनापछि प्रयोग गर्न पाइने जानकारी दिइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise