काठमाडौं : वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले संख्या सयको समस्या संसद्को यसै अधिवेशनबाट हटाउन माग गरेको छ । मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीलाई भेटेर व्यवसायमा आइपरेको कानुनी उल्झन समाधानका लागि ऐन संशोधन र निर्माणको पहल गरिदिन आग्रह गरेको हो ।
प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहाल (राजन)लाई समेत भेटेर वैदेशिक रोजगार व्यवसायीका तत्काल देखिएका समस्या कानुनी रूपमा समाधान गर्नका लागि पहल गरिदिन आग्रह गरेको छ ।
सभापति सुवेदी र सांसद दाहालले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि आफूहरूले सक्दो पहल गर्ने आश्वासन दिएको महासचिव दिमदोङले मध्यान्ह दैनिकलाई बताए ।
प्रतिनिधिमण्डलमा मञ्चका कोषध्यक्ष भरत सापकोटा तथा कार्यसमिति सदस्यहरू सोमबहादुर तामाङ, राजु घिमिरे, रवीन्द्र राई, एमबी राउत, इन्द्रबहादुर लामालगायतको उपस्थिति थियो ।